
पोखरा । पोखरा महानगरपालिका-१७, बिरौटास्थित बालोदय सेकेण्डरी स्कुलमा साइबर अपराध तथा लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक प्रहरी सेवा केन्द्र, बैदामको आयोजनामा सम्पन्न कार्यक्रममा ३३० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
सामुदायिक प्रहरी सेवा केन्द्र, बैदामका प्रहरी निरीक्षक मुकुन्द रिजालको सहजीकरणमा आयोजित कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराइएको थियो। साथै, यसको दीर्घकालीन असर तथा यसबाट बच्ने उपायहरूबारे पनि विस्तृत रूपमा प्रकाश पारिएको थियो।
कार्यक्रममा साइबर अपराधका बढ्दो चुनौतीबारे विशेष चर्चा गर्दै सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, ह्याकिङ, फेक आईडी सञ्चालन तथा व्यक्तिगत गोपनीयता उल्लङ्घन जस्ता विषयमा विद्यार्थीहरूलाई सचेत बनाइएको थियो।
सुरक्षित डिजिटल प्रयोग, अनलाइन जोखिमको पहिचान तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगका विषयमा व्यवहारिक जानकारी समेत प्रदान गरिएको थियो।
सहभागी विद्यार्थीहरूले कार्यक्रमप्रति उत्साहजनक चासो देखाउँदै विभिन्न जिज्ञासा राखेका थिए भने सहजकर्ताले ती प्रश्नहरूको उत्तर दिएका थिए।
विद्यालयको नवनिर्मित भवनको सभाहलमा सम्पन्न कार्यक्रमको समापन गर्दै प्राचार्य टेकनाथ पौडेलले प्रहरी निरीक्षक मुकुन्द रिजाल तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बैदामप्रति आभार व्यक्त गरे।
उनले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई गलत क्रियाकलापबाट टाढा राख्न, सुरक्षित जीवनशैली अपनाउन तथा अनुशासित, सचेत र जिम्मेवार नागरिक बन्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको समग्र विकास र सामाजिक सचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
