भारतीय पर्यटक बढेपछि पोखरामा सडक सुरक्षा निगरानी कडा

Share:

पोखरा । पर्यटकीय सहर पोखरामा भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्न थालेपछि सडक सुरक्षा र सवारी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विशेष सचेतना अभियान सुरु गरिएको छ।

लेकसाइडसहित प्रमुख पर्यटकीय क्षेत्रलाई केन्द्रित गर्दै सञ्चालन गरिएको अभियानले पर्यटकको सुरक्षित र सहज यात्रालाई प्राथमिकता दिएको छ।

अभियानअन्तर्गत पर्यटकहरूलाई सडकको अवस्था, ट्राफिक नियम तथा सवारी सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको छ।

साथै, सवारी पार्किङ व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने हेल्पलाइन नम्बरबारे समेत सचेत गराइएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडा र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त सक्रियतामा सञ्चालन गरिएको कार्यक्रममा मातहतका प्रहरी कार्यालयका प्रमुखहरूको समेत सहभागिता रहेको थियो।

प्रहरीका अनुसार पोखरा आउने विदेशी सवारी साधन र पर्यटकको संख्या बढ्दै जाँदा सडक सुरक्षालाई थप व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। सुरक्षित र व्यवस्थित यातायात व्यवस्थाले पर्यटकको अनुभवलाई सकारात्मक बनाउने विश्वास गरिएको छ।

‘पर्यटकको सुरक्षा र सहजता नै हाम्रो प्राथमिकता हो,’ अभियानमा सहभागी एक प्रहरी अधिकारीले बताए। उनका अनुसार यस्ता कार्यक्रमले ट्राफिक नियम पालनामा वृद्धि हुनुका साथै सडक दुर्घटना र अव्यवस्था कम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

स्थानीय पर्यटन व्यवसायी तथा नागरिकहरूले पनि अभियानको स्वागत गरेका छन्। उनीहरूका अनुसार विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको यस्तो सचेतनामूलक कार्यक्रमले पोखराको पर्यटन छवि अझ सकारात्मक बनाउन सहयोग पुग्नेछ।

प्रहरीले आगामी दिनमा पनि पर्यटकीय क्षेत्रमा यस्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। सुरक्षित यात्रा, व्यवस्थित ट्राफिक र पर्यटकमैत्री वातावरण निर्माणमार्फत गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: