
पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र व्यावसायिक रूपमा सयपत्री फूल खेती गर्ने कृषकहरूका लागि विशेष राहत र प्रोत्साहन कार्यक्रम ल्याएको छ।
महानगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत पुष्प खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा सयपत्री फूलको बीउ र मल्चिङ प्लास्टिक वितरण गर्ने भएको हो।
पुष्प खेतीमा आबद्ध हुन चाहने इच्छुक कृषक, कृषि फर्म, सञ्जाल, समूह तथा सहकारीहरूलाई लक्षित गर्दै महानगरले बिहीबार एक सूचनामार्फत माग संकलनको प्रक्रिया अघि बढाएको छ।
महानगरपालिकाका अनुसार यो सेवा लिन इच्छुक व्यवसायी तथा कृषकहरूले सूचना प्रकाशन भएको मितिले १० दिनभित्र (अर्थात आगामी २०८३ असार १२ गतेभित्र) कृषि विकास शाखा वा सम्बन्धित सेवा केन्द्रहरूमा आवेदन दिइसक्नुपर्नेछ।
आवेदन दिँदा कृषकको नाम, ठेगाना, कृषक वर्गीकरण अनलाइन दर्ता नम्बर, फार्मको विवरण, गत वर्ष र यस वर्ष फूल रोपिने क्षेत्रफल (रोपनीमा), तथा आवश्यक पर्ने बीउको प्याकेट र मल्चिङ प्लास्टिकको रोल संख्या स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
कार्यालयको स्रोतको परिधिभित्र रही व्यावसायिक रूपमा फूल खेती गर्ने कृषकहरूलाई विशेष प्राथमिकता दिइने र उनीहरूलाई खेती प्रविधि सम्बन्धी आवश्यक तालिम समेत प्रदान गरिने वरिष्ठ कृषि विकास अधिकृत एवं महाशाखा प्रमुख मनहर कडरयाले जानकारी दिनुभएको छ।
महानगरले यो कार्यक्रममार्फत नगरलाई फूलमा आत्मनिर्भर बनाउने र कृषकहरूको आर्थिक स्तर उकास्ने लक्ष्य राखेको छ।
