पोखरामा चोरी गर्न काठमाडौंबाट आउँछन् गिरोह, सुन घरमा नराख्न प्रहरीको आग्रह

Share:

पोखरा । पछिल्लो समय पोखरामा भइरहेका ठूला चोरीका घटनामा काठमाडौंबाट आएका गिरोह संलग्न हुने गरेको कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले बताएका छन्।

नुवारथोक टोल विकास संस्था, पोखरा-७ ले आयोजना गरेको शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै एसपी कार्कीले चोरीको नयाँ प्रवृत्तिले अनुसन्धानलाई चुनौतीपूर्ण बनाएको बताए। उनका अनुसार चोरहरू काठमाडौंबाट पोखरा आउने, चोरी गर्ने र पुनः काठमाडौं फर्किने गरेका छन्।

स्थानीयवासीले पोखरामा चोरीका घटना बढ्दै गएको गुनासो गरेपछि एसपी कार्कीले सुरक्षाको पहिलो जिम्मेवारी नागरिककै हुने उल्लेख गर्दै घर तथा टोलको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे। उनले टोल/टोलमा सीसी क्यामेरा जडान, सडक बत्ती व्यवस्थापन तथा सामुदायिक निगरानी बढाउनुपर्नेमा जोड दिए।

एसपी कार्कीले पोखरामा एउटै घरबाट ५० तोला सुन चोरी भएको घटना स्मरण गराउँदै ठूलो परिमाणको सुन घरमा नराख्न सुझाव दिए। “सुन सुरक्षित लकरमा राख्नुस्, धेरै गरगहना लगाएर हिँड्दा समेत जोखिम बढ्न सक्छ,” उनले भने। सुनको मूल्य बढेसँगै चोरहरूको नजर बहुमूल्य धातुतर्फ केन्द्रित भएको उनको भनाइ थियो।

कार्यक्रममा पोखरा–७ का वडा अध्यक्ष राममोहन आचार्यले महानगरले वडाहरूलाई ‘उज्यालो वडा’ बनाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिए। मुख्य चोक/चोकमा सीसी क्यामेरा जडान गर्ने योजना अघि बढाइएको बताउँदै उनले चोरी नियन्त्रणका लागि स्थानीय स्तरमै नियमित गस्ती आवश्यक रहेको बताए।

वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईले टोलमा नयाँ व्यक्ति देखिएमा निगरानी राखी प्रहरीलाई जानकारी गराउन आग्रह गरे। घरमा सीसी क्यामेरा, अटोमेटिक बत्ती जडान गर्न तथा घर छाडेर बाहिर जाँदा छिमेकीलाई जानकारी दिनुपर्ने सुझाव पनि उनले दिए।

कार्यक्रममा सहभागी स्थानीयवासीले टोलस्तरमा गस्ती बढाउन, सडक बत्ती र सीसी क्यामेरा विस्तार गर्न, लागूऔषध नियन्त्रण गर्न तथा महिलालाई बिहान-साँझ सुरक्षित रूपमा हिँड्न सक्ने वातावरण निर्माण गर्न माग गरेका थिए।

सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुरप्रसाद बराल तथा नुवारथोक टोल विकास समिति अध्यक्ष दामोदर बरालले शान्ति सुरक्षा कायम गर्न समुदाय र प्रहरीबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: