
पोखरा । कास्कीको पोखरा महानगरपालिका-१७ राममन्दिर नजिक लेनदेनको विषयमा भएको विवादका क्रममा आफ्नै सासूमाथि चक्कु प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार ३ गते दिउँसो करिब ४:११ बजे पोखरा-२८ माझठाना घर भई हाल पोखरा-१७ बिरौटामा बसोबास गर्दै आएकी ४७ वर्षीया मुना तिवारीमाथि उनका ज्वाइँले चक्कु प्रहार गरेका थिए।
घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घाइते तिवारीलाई तत्काल उपचारका लागि नोबेल अस्पताल पुर्याएको थियो। पछि थप उपचारका लागि उनलाई मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तिवारीको पेट, ढाड र छातीमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र उपचार जारी रहेको बताइएको छ।
घटनामा संलग्न जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका-२ का ४३ वर्षीय ध्रुवराज अधिकारीलाई प्रहरीले घटनामा प्रयोग भएको चक्कुसहित पक्राउ गरेको छ।
पक्राउ परेका अधिकारीविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
