
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अन्तर्गत स्वरूप परिवर्तन (मोडिफाई) गरिएका थप २३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
प्रहरीले शुक्रबार राति पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानमा विशेष चेकजाँच सञ्चालन गर्दा ती सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको जनाएको छ।
प्रहरीका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ११ वटा, वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले ४ वटा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले ८ वटा गरी जम्मा २३ वटा मोडिफाई गरिएका सवारी साधन नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीले हालसम्म ‘अपरेसन ३६५’ अन्तर्गत ७१२ वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिसकेको जनाएको छ।
प्रहरीले सवारी साधन धनीहरूलाई सवारी साधनको मौलिक स्वरूप परिवर्तन नगरी पूर्ववत् अवस्थामै सञ्चालन गर्न आग्रह गरेको छ।
साथै, सवारी साधन मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकहरूलाई समेत यस्ता गतिविधिमा संलग्न नहुन र नगराउन अनुरोध गरिएको छ।
सवारी साधनको स्वरूप परिवर्तन गरी चलाएको पाइएमा सवारी धनी तथा सम्बन्धित व्यक्तिलाई प्रचलित कानूनअनुसार कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।


