
पोखरा । ४ वर्षे कार्यकालका लागि सञ्चालन हुन लागेको लेखनाथ खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
संस्थाको विधान २०५७ (संशोधनसहित) बमोजिम निर्वाचन कार्यक्रम अगाडि बढिरहेको निर्वाचन समितिका संयोजक नवराज सापकोटाले जानकारी दिएका छन्। निर्वाचन समितिका अन्य सदस्यहरूमा देवराज पन्थी र लेखनाथ सापकोटा रहेका छन् ।
निर्वाचन कार्यक्रमअन्तर्गत निर्धारित प्रारम्भिक चरणका सम्पूर्ण कार्यहरू सम्पन्न भइसकेका छन् भने बाँकी निर्वाचन कार्यक्रमहरू असार ६ गते बिहान ७ः३० बजे सार्वजनिक गरिएको सूचनाअनुसार सञ्चालन गरिने भएको छ। निर्वाचन सम्पन्न गरी संस्थालाई सहमति र सहकार्यका आधारमा अगाडि बढाउने प्रयाससमेत जारी रहेको जनाइएको छ ।
यस निर्वाचनमार्फत अध्यक्षसहित ११ सदस्यीय मूल कार्यसमिति चयन गरिनेछ। कार्यसमितिमा एक जना अध्यक्ष, तीन जना महिला सदस्य तथा अन्य सदस्यहरू रहने व्यवस्था छ।
संस्थाअन्तर्गतका १० वटा क्षेत्रबाट १२४ जना प्रतिनिधि सदस्य चयन भइसकेका छन्। ती सबै प्रतिनिधि सदस्यहरूले मतदान प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गर्नेछन् ।
निर्वाचनलाई सहमतिमार्फत सम्पन्न गराउने उद्देश्यले चार सदस्यीय सहजीकरण समिति गठन गरिएको छ। समितिमा वडा नं. २६ का वडा अध्यक्ष नरेन्द्र थापा, बैकुण्ठ बराल, विष्णु पुन कपिल पौडेल रहेका छन्। समितिले असार ६ गतेसम्म सबै पक्षबीच समन्वय र सहकार्य गरी सहमतिमूलक वातावरण निर्माण गर्ने प्रयास गरिरहेको जनाएको छ ।
संस्थाका संस्थापक अध्यक्षहरू शालिकराम पौडेल, चन्द्रकृष्ण कर्माचार्य, बोधराज लामिछाने, विष्णु बराल र मुराहरी शर्मा लगायत अग्रजहरूले संस्थाको स्थापना र विकासमा पुर्याएको योगदानको स्मरण गर्दै संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उपभोक्तामैत्री बनाउन सक्षम नेतृत्व चयन हुने अपेक्षा गरिएको छ ।
लेखनाथ क्षेत्रका १० वटा क्षेत्रअन्तर्गत करिब १८ हजार धारा उपभोक्तालाई गुणस्तरीय तथा स्वास्थ्यकर खानेपानी सेवा प्रदान गर्दै आएको यस संस्थाको निर्वाचनलाई उपभोक्ता तथा सरोकारवालाहरूले चासोका साथ हेरिरहेका छन्। आगामी नेतृत्वले संस्थाको सेवा विस्तार, पूर्वाधार विकास तथा सुशासनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
