
पोखरा । पर्यटकीय नगरी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानीको चर्को अभाव भएपछि होटल व्यवसायीहरूले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गराएका छन्। होटल संघ पोखरा नेपालको नेतृत्वमा गएको टोलीले बिहीबार संस्थान पुगेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटनको राजधानीका रूपमा परिचित पोखराको प्रमुख पर्यटकीय क्षेत्रमा दैनिक खानेपानी अभाव हुनु दुःखद् अवस्था भएको बताए। उनले पर्यटक र व्यवसायी दुवै प्रभावित भइरहेकाले समस्या समाधानमा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताए।
होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को झण्डै पाँच अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको खानेपानी आयोजना सम्पन्न भइसक्दा पनि पोखरेलीले पर्याप्त पानी नपाउनु लाजमर्दो विषय भएको टिप्पणी गरे। “पोखरामा आगामी २० वर्षसम्म खानेपानीको अभाव नहुने भन्दै आयोजना निर्माण गरियो, तर अहिले पनि धारामा पानी नआउँदा व्यवसायी र सर्वसाधारण आक्रान्त बनेका छन्,” उनले भने।
उनका अनुसार होटल व्यवसायीहरूले दैनिक ट्यांकरको पानी खरिद गरेर व्यवसाय सञ्चालन गर्न बाध्य छन्। “पर्यटकीय राजधानी भनिने शहरमा कम्तीमा खानेपानीको सुनिश्चितता हुनुपर्छ,” उनले आग्रह गरे।
खानेपानी अभावको कारण बुझ्न संस्थान पुगेको टोलीलाई संस्थानका इञ्जिनियर लक्ष्मण पाण्डेले मर्दीखोलाबाट पोखरासम्म पानी ल्याउने मुख्य पाइपको क्षमता पर्याप्त नभएकाले समस्या उत्पन्न भएको जानकारी दिएका थिए। पराजुलीका अनुसार ठूलो लगानीमा आयोजना सम्पन्न भए पनि वितरण प्रणालीको मुख्य पाइप सानो भएकाले अपेक्षित परिणाम प्राप्त हुन नसकेको हो।
समस्या समाधानका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले आवश्यक बजेट व्यवस्था गरी ठूलो क्षमताको पाइप जडान गर्नुपर्ने माग व्यवसायीहरूको छ। मेयर र मुख्यमन्त्रीले यस विषयलाई प्राथमिकतामा राखेर पहल गर्नुपर्ने पराजुलीको भनाइ छ। उनले खानेपानी अभावका कारण विभिन्न धारामा पानी भर्न लामो लाइन लाग्ने गरेको पनि बताए।
पोखरेलीलाई प्रशोधित खानेपानी उपलब्ध गराउने उद्देश्यसहित २०७४ भदौमा सम्झौता भएको ‘पोखरा खानेपानी सुधार आयोजना’को निर्माण कार्य सम्पन्न गरी जाइकालाई २०८१ मंसिरमा नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ लगानी रहेको उक्त आयोजनाले दैनिक ४ करोड १० लाख लिटर पानी शुद्धीकरण गर्ने क्षमता राख्छ।
पोखराको मुख्य पानी स्रोत मर्दीखोला हो, जहाँबाट पुरुञ्चौरस्थित प्रशोधन केन्द्रमा पानी शुद्धीकरण गरी २० इन्चका चारवटा पाइपमार्फत वितरण गरिन्छ। आयोजनाअन्तर्गत २० लाख लिटर क्षमताका तीनवटा ट्यांकी निर्माण गरिए पनि हाल पोखरा-५ पस्र्याङ र पोखरा-११ फूलबारीबाट मात्र पानी वितरण भइरहेको छ। पोखरा-१५ कोलपाटनस्थित ट्यांकी भने प्राविधिक समस्याका कारण सञ्चालनमा आउन सकेको छैन।
