फोटो पत्रकार रञ्जितलाई एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड २०२६

Share:

पोखरा। पोखराका फोटो पत्रकार दर्शन रञ्जित राष्ट्रिय स्तरको प्रतिष्ठित ‘एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड २०२६’ बाट सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा रञ्जितलाई नगद ५० हजार रुपैयाँसहित अवार्ड प्रदान गरिएको हो।

‘समर्पणको सम्मान, उत्कृष्टताको उत्सव’ भन्ने नारासहित आयोजित कार्यक्रममा खेलकुद र पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

राजधानीको ठमेलस्थित होटल अलोफ्टमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडी, प्रशिक्षक, खेल संघ तथा सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिएको थियो।

पत्रकारिता अवार्डअन्तर्गत छापा, भिडियो जर्नालिस्ट, अनलाइन मिडिया तथा बेष्ट क्यामेरापर्सन विधामा सम्मान प्रदान गरिएको थियो।

सोही क्रममा पोखराका फोटो पत्रकार दर्शन रञ्जितले आफ्नो व्यावसायिक समर्पण, सिर्जनशीलता र खेलकुद तथा सामाजिक गतिविधिको प्रभावकारी दृश्य दस्तावेजीकरणमार्फत महत्वपूर्ण योगदान पुर्‍याएबापत ‘एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड २०२६’ प्राप्त गरेका हुन्।

अवार्ड ग्रहणपछि रञ्जितले यो सम्मानले आफूलाई अझ जिम्मेवार र सक्रिय भएर काम गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिए। उनले आफूलाई सहयोग गर्ने परिवार, सहकर्मी, सञ्चार संस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे।

रञ्जितको यो उपलब्धिले पोखरेली पत्रकारिता क्षेत्रको गौरव बढाएको भन्दै विभिन्न सञ्चारकर्मी तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: