
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको समय पाएको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुने गरी थुनामा राख्न अनुमति दिएको हो ।
तोकिएको सात दिने अवधि सकिएपछि विभागले थप अनुसन्धानका लागि उनलाई पुनः अदालतमा उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
पूर्व उपप्रधान एवं अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका पौडेललाई आइतबार सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो ।
सुर्खेतमा पक्राउ परेलगतै उनलाई सोही रात सडक मार्ग हुँदै काठमाडौँ ल्याएर अदालतसमक्ष पेस गरिएको थियो ।
एमाले उपाध्यक्ष समेत रहेका पौडेलमाथि अब विभागले सम्पत्ति शुद्धीकरणको अभियोगमा विस्तृत छानबिन अगाडि बढाउने जानकारी अदालत स्रोतले दिएको छ ।
