
पोखरा । निर्माण सामग्री क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि सक्रिय ओम लक्ष्मी ट्रेड्सले विश्वसनीय भारतीय टायल तथा मार्बल ब्रान्ड निट्कोको नयाँ शोरुम पोखरा-५, मालेपाटनमा सञ्चालनमा ल्याएको छ।
युवा व्यवसायी मनोज कुमार अधिकारी, एकनारायण सुवेदी र डिल्लीराम पौडेल को नेतृत्वमा स्थापना गरिएको शोरुमको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा निट्को कम्पनीका महाप्रबन्धक धर्मेन्द्र कुमार ठाकुर ले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष कार्कीले निट्कोका उत्पादनहरू गुणस्तरीय, भरपर्दो र ग्राहकमैत्री रहेको उल्लेख गर्दै पोखरामा व्यवसाय विस्तारका लागि सही साझेदार छनोट गरेकोमा कम्पनीलाई बधाई दिए। उनले निर्माण सामग्री क्षेत्रमा गुणस्तरीय उत्पादनको पहुँच विस्तार हुनु पोखराका उपभोक्ताका लागि सकारात्मक उपलब्धि भएको बताए।
निट्को कम्पनीका महाप्रबन्धक ठाकुरले कम्पनीले विगत ७० वर्षदेखि उच्च गुणस्तरका टायल तथा मार्बल उत्पादन र वितरण गर्दै आएको जानकारी दिए। उनका अनुसार भारतभर कम्पनीका ३८० भन्दा बढी बिक्री कक्ष सञ्चालनमा छन् भने नेपालमा काठमाडौंपछि पोखरा दोस्रो बिक्री केन्द्र बनेको हो। आगामी दिनमा देशका अन्य शहरहरूमा पनि विस्तार गरिने उनले बताए।
कार्यक्रममा निट्को टायल कम्पनीका एरिया म्यानेजर उत्तम रिमाल, पोखरा हार्डवेयर एसोसिएसनका सल्लाहकार तथा पूर्वअध्यक्ष रामचन्द्र थापा, ओम लक्ष्मी इन्टरप्राइजेजका सञ्चालक एकनारायण सुवेदी र डिल्लीराम पौडेल लगायतले गुणस्तरीय निर्माण सामग्रीको उपलब्धतासँगै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
पोखराको जिरो किलोमिटर नजिक, पोखरा-बाग्लुङ राजमार्गमा अवस्थित नयाँ शोरुम स्थापना गर्न करिब ४ करोड ५० लाख रुपैयाँ लगानी गरिएको सञ्चालक मनोज कुमार अधिकारीले जानकारी दिए।
उनले आफ्नो समूहले विगत ११ वर्षदेखि ओम लक्ष्मी ट्रेडिङमार्फत विभिन्न निर्माण सामग्रीको बिक्री-वितरण गर्दै आएको उल्लेख गरे। सञ्चालक अधिकारीका अनुसार नयाँ शोरुममार्फत ग्राहकले अन्तर्राष्ट्रियस्तरका टायल, मार्बल तथा निर्माण सामग्री सहज, विश्वसनीय र प्रतिस्पर्धी मूल्यमा प्राप्त गर्नेछन्।
उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि र दीर्घकालीन विश्वासलाई संस्थाको मुख्य प्राथमिकताका रूपमा अघि बढाइने उनको प्रतिबद्धता छ। निट्कोको आगमनसँगै पोखराको निर्माण सामग्री बजारमा गुणस्तरीय टायल र मार्बलको नयाँ विकल्प थपिएको व्यवसायीहरूको विश्वास छ।

