होटल संघ पोखराका कार्यालय प्रमुख रामप्रसाद खनालको निधन, पर्यटन क्षेत्रमा शोक

Share:

पोखरा । होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनाल को उपचारका क्रममा निधन भएको छ। ४१ वर्षीय खनालको आइतबार ‘जाऔं है पोखरा’ अभियानको क्रममा पाल्पा पुग्दा अचानक मस्तिष्कघात भएपछि उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा भर्ना गरिएको थियो।

उपचारकै क्रममा मंगलबार उनको निधन भएको होटल संघ पोखरा नेपालले जनाएको छ। गोरखा जिल्लाको आरुघाट निवासी खनाल पर्यटन तथा होटल व्यवसायको प्रवर्द्धनमा सक्रिय रहँदै आएका थिए।

उनका श्रीमती र एक छोरी छन्। उनको असामयिक निधनले होटल तथा पर्यटन क्षेत्रलाई अपूरणीय क्षति पुगेको भन्दै होटल संघ पोखरा नेपालले गहिरो दुःख व्यक्त गरेको छ।

संघका अध्यक्ष लक्ष्मण सुवेदी ले जारी गरेको शोक वक्तव्यमा दिवंगत खनालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरिएको छ।

साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःख सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।

होटल संघ पोखरा नेपालले खनालको योगदानलाई सधैं स्मरण गरिने उल्लेख गर्दै उनको निधनले सम्पूर्ण पर्यटन समुदाय स्तब्ध र मर्माहत बनेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: