
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ करोड ९९ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको १७औँ गाउँसभामा उपाध्यक्ष तथा राजश्व परामर्श समितिकी संयोजक सीता अधिकारीले वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै विकास निर्माण, सेवा प्रवाह र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताइन् ।
प्रस्तुत बजेटअनुसार पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिँदै ११ करोड ५० लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिका कार्यालय तथा मातहतका कार्यालय सञ्चालनका लागि १० करोड ८० लाख १० हजार रुपैयाँ, सामाजिक विकासतर्फ ४ करोड ९४ लाख ३३ हजार रुपैयाँ, आर्थिक विकासतर्फ २ करोड ४४ लाख ८ हजार रुपैयाँ तथा संस्थागत विकास र सेवा प्रवाह सुधारका लागि १ करोड ६४ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ।
यसैगरी वडागत कार्यक्रमका लागि ५ करोड ४० लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २७ करोड ९६ लाख रुपैयाँ तथा फिर्ता गर्नुपर्ने विभिन्न शीर्षकका लागि २ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यस वर्षदेखि कृषकलाई कृषि उत्पादन ढुवानीमा अनुदान दिने नयाँ कार्यक्रम पनि अघि सारेको छ।
उक्त कार्यक्रमका लागि ५ लाख रुपैयाँ बजेट छुट्याइएको उपाध्यक्ष अधिकारीले जानकारी दिनुभयो। यसका साथै महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम तथा आयआर्जन कार्यक्रम सञ्चालन गरिने भएको छ।
पर्यटन क्षेत्रको प्रवर्द्धन, पर्यटन पूर्वाधार निर्माण, स्वास्थ्य सेवा विस्तार तथा सामाजिक विकासका विविध कार्यक्रमलाई समेत बजेटमार्फत प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ।
आगामी वर्षको बजेटले स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना, सेवा प्रवाह सुधार तथा समग्र गाउँपालिकाको दिगो विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।
