
पोखरा । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी (प्रा.) लि.ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ।
एक विशेष समारोहबीच शाखाको औपचारिक शुभारम्भ गर्दै संस्थाले गण्डकी प्रदेशका विद्यार्थीहरूलाई आफ्नै शहरबाट अन्तर्राष्ट्रियस्तरको परामर्श सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।
सन् २००८ मा स्थापना भएको मिशन यूएसएले डेढ दशकभन्दा बढी समयदेखि शैक्षिक परामर्श क्षेत्रमा विश्वासिलो पहिचान बनाउँदै आएको छ।
पोखरास्थित नयाँ शाखाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, स्वतन्त्र शैक्षिक परामर्श एसोसिएसन (फेकोन) काठमाडौंका अध्यक्ष उमेश कुश्वार तथा फेकोन गण्डकीका अध्यक्ष सुदन बस्नेतले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले पोखरा र समग्र गण्डकी प्रदेशका विद्यार्थीहरूका लागि यो शाखा महत्वपूर्ण अवसर बन्ने विश्वास व्यक्त गर्दै पारदर्शी, गुणस्तरीय र विश्वसनीय शैक्षिक परामर्शको आवश्यकता अझ बढ्दै गएको उल्लेख गरे। उनीहरूले संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै विद्यार्थीमैत्री सेवाको निरन्तरतामा जोड दिएका थिए।
संस्थापक संजय घिमिरेका अनुसार पोखरा शाखा मिशन यूएसएको चौथो शाखा हो। विद्यार्थीहरूको बढ्दो माग र सहज पहुँचलाई ध्यानमा राख्दै संस्थाले सेवा विस्तारको क्रममा पोखरामा आफ्नो उपस्थिति जनाएको हो। यसअघि संस्थाका दुई शाखा झापा र एक शाखा काठमाडौंमा सफलतापूर्वक सञ्चालनमा छन्।
पोखरा शाखाका निर्देशक तथा संयोजक किरण बानियाँले अमेरिका लगायत विभिन्न देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको बताउनुभयो। कार्यक्रममा शाखाका निर्देशक तथा व्यवस्थापक कर्णबहादुर विक र निर्देशक सावित्री केसीले गुणस्तरीय तथा नतिजामुखी परामर्श सेवामार्फत विद्यार्थीहरूको भविष्य निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
मिशन यूएसएले अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, युरोप, जापान र भारत लगायतका प्रमुख शैक्षिक गन्तव्यका लागि उच्च शिक्षा परामर्श, भिसा आवेदन प्रक्रिया तथा अन्तर्वार्ता तयारी सम्बन्धी सेवा प्रदान गर्दै आएको छ।
साथै, आईईएलटीएस, टोफेल लगायत अन्तर्राष्ट्रिय भाषा परीक्षाको तयारी कक्षा र अनुभवी परामर्शदाताबाट प्रत्यक्ष मार्गदर्शन पनि उपलब्ध गराउँदै आएको छ।
संस्थाले पोखरा तथा आसपासका क्षेत्रका विद्यार्थीहरूलाई आफ्नै शहरबाट विश्वस्तरीय परामर्श सेवा प्रदान गर्दै विदेश अध्ययनको यात्रालाई सुरक्षित, सहज र सफल बनाउन प्रतिबद्ध रहेको जनाएको छ।
नयाँ शाखाको सञ्चालनसँगै गण्डकी प्रदेशका विद्यार्थीहरूले अब गुणस्तरीय शैक्षिक परामर्शका लागि काठमाडौं वा अन्य शहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
