
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा बीच पोखरामा भेटवार्ता भएको छ।
बिहीबार प्रदेश प्रमुख निवासमा भएको भेटमा दुई प्रदेशबीचको सम्बन्ध अझ सुदृढ बनाउँदै विकास, अनुभव आदान–प्रदान र सहकार्य विस्तार गर्ने विषयमा विशेष छलफल भएको हो।
अन्तरप्रदेश भ्रमणका क्रममा गण्डकी आइपुगेका देवकोटा र उनकी धर्मपत्नीलाई प्रदेश प्रमुख भट्टले स्वागत गर्दै राजधानी प्रदेश र पर्यटकीय राजधानी रहेको प्रदेशबीच सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।
भेटवार्ताका क्रममा दुवै प्रदेश प्रमुखले आफ्नो-आफ्नो प्रदेशका गतिविधि, उपलब्धि र चुनौतीबारे अनुभव साझा गर्दै एकअर्काका सफल अभ्यासको अनुसरण गर्ने, प्रदेश कार्यालयका कार्यप्रणाली तथा प्रशासनिक अनुभव साटासाट गर्ने विषयमा सहमति जनाएका छन्।
उनीहरूले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत प्रदेशको संस्थागत विकास, गरिमा र भूमिकालाई थप सुदृढ बनाउनुपर्नेमा समेत जोड दिएका छन्।
भेटका अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाले गण्डकी प्रदेश प्रमुख भट्टलाई बागमती प्रदेश भ्रमणको निमन्त्रणा दिए भने भट्टले गण्डकीका प्रमुख पर्यटकीय गन्तव्य झल्किने तस्वीरसहितको मायाको चिनो प्रदान गरे।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना, प्रमुख स्वकीय सचिव रञ्जन अधिकारी, उपसचिवद्वय रामेश्वर अर्याल र प्रविण पौडेल, लेखा अधिकृत युवराज पौडेल तथा बागमती प्रदेश प्रमुख कार्यालयका स्वकीय सचिव थानेश्वर न्यौपानेलगायतको उपस्थिति रहेको थियो।
