
पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार नियोजनसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ स्थित रिभान स्वास्थ्य चौकी मा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहका अगुवाहरूको सहभागिता रहेको कार्यक्रममा संघका सभापति नवीन सिग्देलले विशेषगरी महिला तथा किशोरकिशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य शिक्षा समयको आवश्यकता भएको बताए ।
उनले सही जानकारी र सेवामा पहुँच विस्तारले स्वस्थ र सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे। कार्यक्रममा संघका वरिष्ठ शाखा प्रबन्धक नव राज तिवारी, स्टाफ नर्स अनुषा भुजेल तथा कर्मचारी सुरज चौधरीले यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजन सेवा र सचेतनाका विविध पक्षबारे सहजीकरण गरेका थिए ।
नेपाल परिवार नियोजन संघ कास्कीले कास्कीका विद्यालय तथा कलेजहरूमा पनि यौन तथा प्रजनन स्वास्थ्य शिक्षा अभियान सञ्चालन गर्दै किशोरकिशोरीमा सही ज्ञान, सकारात्मक सोच र सुरक्षित व्यवहार विकासका लागि निरन्तर कार्यक्रम अघि बढाइरहेको जनाएको छ।
