
पोखरा । होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनाल को असामयिक निधनप्रति होटल संघ नेपाल (हान) गण्डकी ले गहिरो दुःख व्यक्त गरेको छ।
संघले शोक विज्ञप्ति जारी गर्दै खनालको निधनले पोखराको पर्यटन तथा होटल क्षेत्रले इमानदार, कर्मशील र मिलनसार सहकर्मी गुमाएको जनाएको छ।
‘जाऔँ है पोखरा’ अभियानका क्रममा पाल्पा पुगेका बेला आइतबार मस्तिष्कघात भएपछि उपचारका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्स मा भर्ना गरिएका ४१ वर्षीय खनालको बुधबार उपचारकै क्रममा निधन भएको थियो।
आरुघाट निवासी खनालका श्रीमती र एक छोरी छन्। उनको निधनले परिवारसँगै समग्र पोखरेली पर्यटन क्षेत्र स्तब्ध बनेको संघले जनाएको छ।
संघका अनुसार खनाल कर्तव्यनिष्ठ, मेहनती र सबैसँग आत्मीय सम्बन्ध कायम गर्न सक्ने व्यक्तित्वका रूपमा परिचित हुन् ।
उनले होटल तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा पुर्याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्दै संघले दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।
