
पोखरा। नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापना दिवसको ५०औँ वर्ष (स्वर्ण जयन्ती) वर्षभरि नै विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ।
नेपाल पत्रकार महासंघ कास्की शाखाले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शाखाका अध्यक्ष माधव बरालले महासंघ स्थापनाको स्वर्ण वर्षलाई उत्सवका रूपमा मनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
वि.सं. २०३४ साल असार १२ गते स्थापना भएको महासंघ कास्कीले स्वर्ण जयन्ती वर्षलाई विशेष बनाउन आधिकारिक लोगोसमेत सार्वजनिक गरेको छ।
आधा शताब्दी लामो यात्राको स्मरण गर्दै अध्यक्ष बरालले निरंकुश शासनदेखि लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म कास्कीको पत्रकारिताले देशको राजनीतिक तथा सामाजिक रूपान्तरणमा ऐतिहासिक भूमिका खेलेको बताए। उनले संस्थालाई यहाँसम्म पुर्याउन योगदान गर्ने संस्थापक, अग्रज तथा पूर्व नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको त्याग, समर्पण र निष्ठाले कास्कीको पत्रकारितालाई राष्ट्रिय पहिचान दिलाउन सफल भएको उल्लेख गरे।
उनले पोखरेली जनता, विभिन्न संघसंस्था तथा स्थानीय सरकारको निरन्तर साथ र सहयोग महासंघको यात्रामा महत्वपूर्ण रहेको बताए।
वर्तमान समयमा पत्रकारिता क्षेत्रले सामना गरिरहेका चुनौतीबारे चर्चा गर्दै अध्यक्ष बरालले प्रविधिको तीव्र विकास र सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै भ्रामक सूचनाको जोखिम बढेको बताए। परम्परागत पत्रकारितामाथि चुनौती थपिएको अवस्थामा व्यावसायिकता, विश्वसनीयता र तथ्यमा आधारित पत्रकारितालाई पुनः स्थापित गर्नु महासंघको प्रमुख दायित्व रहेको उनको भनाइ थियो।
सञ्चार क्षेत्र आर्थिक संकटबाट गुज्रिरहेको र पत्रकारहरूको श्रमको उचित मूल्यांकन हुन नसक्नु दुःखद पक्ष भएको उल्लेख गर्दै उनले पत्रकारको पेशागत सुरक्षा र सम्मान सुनिश्चित गर्न सबै पक्ष गम्भीर हुनुपर्ने बताए।
सरकारले पछिल्लो समय प्रेस स्वतन्त्रता र पत्रकारिताप्रति अनुदार नीति अपनाएको आरोप लगाउँदै अध्यक्ष बरालले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन-प्रसारण गर्ने विभेदकारी निर्णयप्रति महासंघले आपत्ति जनाएको बताए। उक्त निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने उनले स्पष्ट पारे।
पत्रकारिताको गरिमा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउन सबै सञ्चारकर्मी थप जिम्मेवार बन्नुपर्नेमा अध्यक्ष बरालले जोड दिए।
