पोखराका पत्रकार विजय नेपाललाई रोटरी जर्नो अवार्ड

Share:

पोखरा । पोखरामा दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार विजय नेपाल रोटरी जर्नो अवार्ड-२०२५ बाट सम्मानित भएका छन्। रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा नेपालसहित देशभरका सात जना पत्रकारलाई जनही नगद ५१ हजार रुपैयाँसहित रोटरी जर्नो अवार्ड प्रदान गरेको हो।

पाल्पाको रिब्दीकोट गाउँपालिका-७, मैनादी स्थायी घर भएका नेपाल हाल पोखराबाट प्रकाशित आदर्श समाज दैनिकका कार्यकारी सम्पादक तथा राजधानी दैनिकका संवाददाताका रूपमा कार्यरत छन्। उनी विगत दुई दशकदेखि निष्पक्ष, व्यावसायिक र जिम्मेवार पत्रकारितामा निरन्तर सक्रिय छन्।

सोही समारोहमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ लाई यज्ञप्रसाद आचार्य रोटरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। उक्त अवार्डको राशि १ लाख १ हजार रुपैयाँ रहेको छ।

यस वर्ष रोटरी जर्नो अवार्ड प्राप्त गर्ने अन्य पत्रकारहरूमा गोरखाका सुदीप कैनी, सिन्धुलीका सागर बुढाथोकी, सुनसरीका विकल रेग्मी, ओखलढुंगाका सरोज ढुंगेल, काठमाडौंकी उर्वसी बस्न्यात र बाँकेकी रूपा गहतराज रहेका छन्।

समारोहमा रोटरी इन्टरनेशनल डाइरेक्टर नोमिनी बासुदेव गोल्यान र डिष्ट्रिक्ट गभर्नर विनोद कोइराला ले पुरस्कार वितरण गर्दै समाजमा सकारात्मक परिवर्तनका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनीहरूले उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने परम्पराले व्यावसायिक पत्रकारितालाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

रोटरी जर्नो अवार्ड कमिटीका अध्यक्ष सुरेश आचार्य का अनुसार रोटरीले सन् २०११ देखि समाजमा सकारात्मक प्रभाव पार्ने पत्रकारलाई सम्मान गर्दै आएको छ। यस वर्ष विभिन्न विधामा देशभरबाट ५० पत्रकारका २६७ समाचार सामग्री प्रतिस्पर्धामा सहभागी भएका थिए।

जुरी प्यानल संयोजक वरिष्ठ पत्रकार तीर्थ कोइराला ले पत्रकारको क्षमता, प्रभाव र व्यावसायिक योगदानका आधारमा पूर्ण पारदर्शी प्रक्रियाबाट विजेता छनोट गरिएको बताए।

कार्यक्रमका अध्यक्ष तथा डिष्ट्रिक्ट गभर्नर विनोद कोइराला ले रोटरीले सामाजिक सेवासँगै पत्रकारिता, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको उल्लेख गरे। उनले रोटरीले पेसागत मर्यादा, सेवाभाव र सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताए।

कमेन्ट गर्नुहोस्
Share: