
पोखरा । पोखरा महानगरपालिका-२५ हेम्जामा आज आयोजना हुने छैटौं हेम्जा हिले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।
देवीस्थान सेवा समाज हेम्जाको आयोजनामा हुने महोत्सवले परम्परागत कृषिसंस्कृति, पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको पहिचानलाई एकै थलोमा जोड्ने अपेक्षा गरिएको छ।
कृषकको पर्व मानिने असार १५ लाई उत्साहपूर्ण बनाउन महोत्सवस्थलको खेत हिल्याउने काम सम्पन्न भइसकेको आयोजकले जनाएको छ।
यस वर्षको महोत्सवमा हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालयस्तरीय धान रोपाइँ प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, जोडी दौड, आमा समूहबीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने, हिले भलिबल र फुटबल लगायतका आकर्षक प्रतियोगिताहरू सञ्चालन हुनेछन्।
देवीस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार हेम्जालाई कृषि पर्यटनसँग जोड्दै विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, कृषकलाई सम्मान गर्ने र युवालाई कृषिप्रति प्रेरित गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो।
महोत्सव मूल आयोजक समितिकी संयोजक चन्द्रकला पोख्रेलले कृषकको सम्मान र कृषि संस्कृतिको संरक्षणमा महोत्सवले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेम्जाको सान’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहनेछ।
विभिन्न प्रतियोगिताका विजेतालाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
महोत्सवको उद्घाटन पोखरा महानगरपालिका-२५ की कार्यवाहक वडा अध्यक्ष तथा कार्यपालिका सदस्य धनकुमारी पोख्रेल तिम्सिनाको प्रमुख आतिथ्यमा हुनेछ।
बिहान ९:३० बजे विष्णुपादुका माइस्थान मन्दिरबाट सुरु हुने कृषि झाँकी देवीस्थान मार्ग हुँदै मिलचोक परिक्रमा गरी महोत्सवस्थल पुग्ने कार्यक्रम रहेको छ।
असार १५ को सांस्कृतिक र कृषि महत्त्वलाई जीवन्त बनाउँदै हेम्जामा हुने यो महोत्सवले स्थानीय संस्कृति, कृषकको योगदान र पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।
