
पोखरा । नेसनल प्याब्सन कास्कीको आयोजनामा अंग्रेजी विषयका शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आइतबार एकदिने ‘अध्ययन-अभ्यास ढाँचा’ सम्बन्धी तालिम सम्पन्न भएको छ।
संगम बुक्स पब्लिकेशन, साधना बुक्स पब्लिकेशन तथा मनकामना बुक्स एन्ड स्टेशनरीको व्यवस्थापनमा आयोजित तालिममा नेसनल प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका अंग्रेजी शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तालिममा शिक्षकहरूलाई आधुनिक अंग्रेजी शिक्षण विधि, विद्यार्थी-केन्द्रित सिकाइ, प्रभावकारी कक्षाकोठा व्यवस्थापन, अध्ययन-अभ्यासका नवीन प्रविधि तथा पाठ्यसामग्रीको सिर्जनात्मक प्रयोगका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख प्रशिक्षक प्रो. डा. जिवलाल सापकोटाले शिक्षणलाई व्यवहारिक, उपलब्धिमूलक र विद्यार्थी-मैत्री बनाउन निरन्तर अध्ययन-अभ्यास अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता तालिमले शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
तालिममा सहभागी शिक्षकहरूले प्राप्त ज्ञान र सीपलाई विद्यालयमा व्यवहारमा उतार्दै विद्यार्थीको सिकाइ उपलब्धि अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए।
संगम/साधना बुक्स पब्लिकेशनका सञ्चालक तथा मनकामना बुक्स एन्ड स्टेशनरीका प्रोप्राइटर ऋषिराम शर्मा भण्डारीले गुणस्तरीय शिक्षाका लागि यस्ता अध्ययन–अभ्यासमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमको अध्यक्षता गरेका नेसनल प्याब्सन कास्कीका कोषाध्यक्ष राजु केसीले शिक्षकहरूको उत्साहजनक सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै गुणस्तरीय शिक्षा, प्रभावकारी शिक्षण र पुस्तक संस्कृतिको विकासका लागि यस्ता व्यावसायिक विकास कार्यक्रमलाई निरन्तरता दिइने बताए।
शिक्षकको क्षमता विकासमार्फत विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त तालिम सहभागीहरूका लागि ज्ञान, सीप र अनुभव आदानप्रदानको प्रभावकारी मञ्च बनेको आयोजकले जनाएको छ।
