
पोखरा। एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १०० रुपैयाँले घटेपछि पोखराका केही क्षेत्रमा ग्यास लुकाउने, पुरानै मूल्यमा बिक्री गर्ने तथा कृत्रिम अभाव सिर्जना गरिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कास्की सक्रिय बनेको छ।
प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित रूपमा मौज्दात गर्ने, कालोबजारी गर्ने वा उपभोक्तासँग चर्को मूल्य असुल्ने व्यक्ति तथा व्यवसायीबारे तत्काल सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको हो।
प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले ग्यासको बिक्री–वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक निर्णय गरेको प्रशासनले जनाएको छ। बजारमा नियमित अनुगमन भइरहेको उल्लेख गर्दै उपभोक्ता संरक्षण ऐनविपरीत गतिविधिमा संलग्न जो-कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
प्रशासनका अनुसार ग्यास उद्योगसँगको समन्वयमा बजारमा नियमित आपूर्ति भइरहेको छ। त्यसैले ग्यास लुकाउने, भेदभावपूर्ण वितरण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा नयाँ मूल्य लागू भइसकेपछि पनि पुरानै मूल्यमा बिक्री गर्ने कार्य सह्य नहुने स्पष्ट पारिएको छ।
यस्ता गतिविधिबारे जानकारी भए जिल्ला प्रशासन कार्यालय, कास्कीको प्रशासन शाखा (फोन: ०६१-४५६३३१) वा जिल्ला प्रहरी कार्यालय, कास्की (१००) मा तत्काल सम्पर्क गर्न प्रशासनले सर्वसाधारणसँग अनुरोध गरेको छ।
