
पोखरा। पोखरा महानगरपालिकाको १९औँ नगर सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
बुधबार बसेको नगर सभाको बैठकले उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको वार्षिक विकास कार्यक्रम अनुमोदन गरेको हो। यसअघि असार ५ गते बसेको दोस्रो बैठकमा बजेट प्रस्तुत गरिएको थियो।
पारित बजेटअनुसार संघीय सरकारको वित्तीय हस्तान्तरणबाट ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुनेछ। यसअन्तर्गत संघीय सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, समपूरक अनुदान १ करोड ८२ लाख र समानिकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ रहेको छ।
गण्डकी प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ अनुदान प्राप्त हुने छ। यसमा ८ करोड १५ लाख ३६ हजार रुपैयाँ समानिकरण, ६० लाख रुपैयाँ समपूरक र ४० लाख रुपैयाँ विशेष अनुदान समावेश छ।
राजस्व बाँडफाँडअन्तर्गत संघीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार तथा प्रदेश सरकारबाट ४ करोड ९ लाख ८६ हजार रुपैयाँ प्राप्त हुनेछ। स्थानीय सरकारतर्फ १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ र आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। यससँगै महानगरको कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
कुल बजेटमध्ये ५५.१५ प्रतिशत चालु खर्च र ४४.९५ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
नगर सभाले आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ पनि पारित गरेको छ। साथै न्यायिक समिति र सार्वजनिक लेखा समितिका वार्षिक प्रतिवेदन स्वीकृत गर्दै कार्यपालिकाले सिफारिस गरेका विभिन्न विधेयक, संशोधन प्रस्ताव तथा मापदण्डहरू समेत अनुमोदन गरेको छ।
नगर प्रमुख धनराज आचार्यले नगर सभा सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै पारित नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।
