अमृता पाण्डेको २२औँ स्मृति दिवसमा वृक्षरोपण

Share:

पोखरा । दिवंगत भेषकुमारी पाण्डे ‘अमृता’को २२औँ स्मृति दिवसका अवसरमा पोखरा-१४ स्थित समावेशी टोल प्रवेशमार्गमा रहेको समावेशी पार्कमा वृक्षरोपण तथा गोडमेल कार्यक्रम सम्पन्न गरिएको छ।

समावेशी टोल विकास संस्था-१४ को सहकार्यमा अमृता पाण्डेको परिवारले आयोजना गरेको कार्यक्रममा निम, अमला, अपराजिता, कडीपत्ता, शीतलचिनी लगायतका विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै पार्क परिसरको सरसफाइ र गोडमेल गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा समावेशी टोल विकास संस्थाका अध्यक्ष राजु गिरीले दिवंगत अमृता पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गर्दै वृक्षरोपण वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्ने महत्वपूर्ण अभियान भएको बताए।

संस्थाका सल्लाहकार रामप्रसाद खतिवडाले स्मृतिमा गरिएको वृक्षरोपणले वातावरण संरक्षणसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै दिवंगत पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गरे।

कार्यक्रममा समावेशी आमा समूहकी अध्यक्ष चन्द्रा केसी, समावेशी टोल विकास संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, स्थानीयवासी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।

दिवंगत अमृता पाण्डेका दाजु घनश्याम पाण्डेले कार्यक्रममा सहभागी तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफ्नी बहिनीको स्मृतिलाई समाजोपयोगी कार्यमार्फत जीवित राख्ने प्रयास भइरहेको बताए।

उनका अनुसार अमृता पाण्डेको २०६१ असार १८ गते बुटवलको नयाँमिल क्षेत्रमा बसबाट झर्ने क्रममा ठक्कर लागेर निधन भएको थियो।

पाण्डेले प्रत्येक वर्ष स्मृति दिवसमा वृक्षरोपण तथा गोडमेल गर्ने र जन्मजयन्तीका अवसरमा स्याङ्जाको वालिङ–११ स्थित श्री टापुर राष्ट्रिय माध्यमिक विद्यालय, स्वरेकका ४ जना विद्यार्थीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिए।

उनले यसअघि रोपिएका सबै बिरुवा हुर्किएको उल्लेख गर्दै विरुवा रोप्ने मात्र नभई तिनको संरक्षणमा पनि निरन्तर ध्यान दिँदै आएको बताए।

कमेन्ट गर्नुहोस्
Share: