पत्रकारितामा एआई अपरिहार्य बन्दै, अन्तिम निर्णय भने मानवकै हुनुपर्छ

Share:

पोखरा । पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तीव्र रूपमा बढ्दै गएको र अब एआईबिनाको न्यूजरुम कल्पना गर्नै नसकिने निष्कर्षसहित पोखरामा शनिबार पत्रकार, प्रविधि विज्ञ र सञ्चार उद्यमीबीच गहन छलफल भएको छ।

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेशद्वारा आयोजित ‘गण्डकी मिडिया समिट-२०८३’ अन्तर्गत ‘पत्रकारितामा एआई’ विषयक सेसनमा अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, एआई विज्ञ दोभान राई र सञ्चार उद्यमी तथा कन्टेन्ट क्रियटर महेश भण्डारी वक्ताका रूपमा सहभागी थिए। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी रघुनाथ वाग्ले ले गरेका थिए।

बस्नेतले आफ्नो संस्थामा डेढ वर्षदेखि एआई प्रयोग भइरहेको जानकारी दिँदै एआईले समाचार उत्पादन र सम्पादन प्रक्रियालाई सहज बनाएको बताए। तर समाचारको सत्यता, सन्तुलन र अन्तिम सम्पादकीय निर्णय भने मानवकै जिम्मेवारी रहनेमा उनले जोड दिए। “एआईले जहिल्यै सही निर्णय गर्छ भन्ने भ्रममा बस्नु हुँदैन। अन्तिम निर्णयकर्ता मानिस नै हो,” उनले भने।

एआई विज्ञ राईले पछिल्ला पाँच वर्षमा एआईको विकास अत्यन्त तीव्र भएको उल्लेख गर्दै यसले समाज, अर्थतन्त्र र कार्यशैलीमा गहिरो परिवर्तन ल्याइरहेको बताइन्। भविष्यमा एआई मानवको क्षमताभन्दा अगाडि बढ्न सक्ने संकेत गर्दै उनले यसको जिम्मेवार प्रयोग आवश्यक रहेको धारणा राखिन्।

उनले एआईद्वारा सिर्जित सामग्री यथार्थजस्तै देखिन थालेकाले गलत सूचना र भ्रम फैलिने जोखिम बढेको उल्लेख गरिन्। साथै सूचना प्रविधिको अत्यधिक प्रयोगले मानिसहरू सामाजिक रूपमा टाढिँदै गएकोप्रति पनि उनले चिन्ता व्यक्त गरिन्।

“पहिले पढ्न सजिलो र लेख्न गाह्रो थियो, अहिले एआईका कारण लेख्न सजिलो तर पढेर सत्य छुट्याउन गाह्रो भएको छ,” राईले भनिन्। सञ्चार उद्यमी तथा कन्टेन्ट क्रियटर महेश भण्डारीले एआईलाई सहयोगी उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताए। उनले कन्टेन्ट उत्पादनमा प्रविधिको उपयोग सकारात्मक भए पनि मौलिक सोच, सिर्जनशीलता र कथावाचन (न्यारेटिभ) भने मानवकै विशेषता रहने उल्लेख गरे।

“एआईले न्यारेटिभ सिर्जना गर्न सक्दैन, त्यो मानिसले नै गर्ने हो,” उनले भने। रास्वपाका नेतासमेत रहेका भण्डारीले आफूले बनाएका कुनै राजनीतिक कन्टेन्टमा तथ्यगत त्रुटि देखिए सच्याउन तयार रहेको पनि बताए। पत्रकारहरू एआईसँग डराउनुभन्दा यसको सही उपयोगबारे जानकार हुनुपर्ने उनको भनाइ थियो।

बस्नेतले एआईले केही परम्परागत रोजगारी विस्थापित गरे पनि नयाँ अवसर सिर्जना गरिरहेको उल्लेख गर्दै पत्रकारितामा विश्वसनीयता र सम्पादकीय जिम्मेवारी झन् महत्वपूर्ण बनेको बताए।

करिब एक घण्टा चलेको अन्तरक्रियामा सहभागी पत्रकारहरूले एआईको विश्वसनीयता, नैतिक प्रयोग, तथ्य परीक्षण र पत्रकारिताको भविष्यबारे जिज्ञासा राखेका थिए। वक्ताहरूले एआईलाई प्रतिस्पर्धी होइन, जिम्मेवार सहकर्मीका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: