
पोखरा । विश्वकर्मा समुदायको सामाजिक, शैक्षिक र सांस्कृतिक उत्थानमा सक्रिय विश्वकर्मा सेवा समाज कास्कीले आफ्नै सुविधासम्पन्न भवन निर्माण सम्पन्न गर्दै शनिबार तेस्रो साधारण सभा, भवन उद्घाटन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
पोखरा महानगरपालिका-७, घारीपाटनस्थित समाजको नवनिर्मित भवनमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विशिष्ट व्यक्तित्व, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा भवन निर्माणमा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि दुर्गा बहादुर सुनारले विश्वकर्मा समुदायले शिल्पी तथा उत्पीडित वर्गको अधिकारका लागि खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै समुदायबीचको एकता र संस्थागत विकासलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
यस्ता अभियानले नयाँ पुस्तामा आफ्नो इतिहास र पहिचानप्रति गौरवबोध जगाउने विश्वास उनले व्यक्त गरे।पोखरा महानगरपालिका कार्यपालिका सदस्य तथा समाजका पूर्वअध्यक्ष निर्मल दियाली ले विश्वकर्मा समुदाय सामाजिक गतिविधिमा मात्र सीमित नभई प्रशासन, राजनीति र नीतिनिर्माण तहमा पनि प्रभावकारी उपस्थिति जनाउनुपर्ने बताए।
उनले युवाहरूलाई उच्च शिक्षा, नेतृत्व विकास र निजामती सेवातर्फ आकर्षित हुन आग्रह गरे। समारोहमा भवन निर्माण समितिका आर्थिक संयोजक दशरथ सुनारले जग्गा खरिददेखि भवन निर्माण सम्पन्न हुँदासम्म धेरै चुनौती सामना गर्नुपरे पनि समुदायको एकता र सहयोगका कारण ऐतिहासिक उपलब्धि हासिल भएको बताए। उनले सहयोगी सबैप्रति आभार व्यक्त गरे।
समाजका अध्यक्ष भविन्द्र सुनारले संस्थाको स्थापना यता भएका गतिविधि, उपलब्धि र आगामी योजनाबारे जानकारी दिँदै समुदायको एकता, शिक्षा र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता व्यक्त गरे।
समारोहमा आफ्नो-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै डा. दिनेश विश्वकर्मा, डा. गणेश विश्वकर्मा, डा. सुरेश कुमार विश्वकर्मा, डा. देउबहादुर विश्वकर्मा, डा. दृश्य विश्वकर्मा, डा. संजित विश्वकर्मा, डा. शैलेन्द्र वि.क., डा. सुजन वि.क., डा. कृति सुनार, पाइलट स्वीकार वि.क., स्थापित कलाकार कुलेन्द्र विश्वकर्मा तथा पत्रकार सुरेश सुनारलाई सम्मान गरिएको थियो।
समाजले ८० वर्ष नाघेका जंगवीर विश्वकर्मा, दुर्गा बहादुर सुनार, जसबहादुर सुनार, सुकमाया सुनार, पुतली सुनार, छविलाल सुनार, डिल्लीराम विश्वकर्मा, गुप्तबहादुर विश्वकर्मा, मनरुपा सुनार, भुवनलाल सुनार, आइत विश्वकर्मा, तिलकुमारी घमाल, खिमलाल सुनार, गंगाराम सुनार, पार्वती कामी, तिलीकुमारी सुनार र डबलबहादुर घताकामी लाई दोसल्ला र सम्मानपत्रसहित विशेष सम्मान प्रदान गरेको थियो।
उपस्थित वक्ताहरूले नवनिर्मित भवनले समुदायका सामाजिक, सांस्कृतिक, शैक्षिक तथा संस्थागत गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन समाजका सचिव तारा गौतम सुनार ले गरेका थिए।
