‘भजन चुड्का हाम्रो सांस्कृतिक आत्मा हो, नयाँ पुस्तासम्म पु¥याउनुपर्छ’- प्रदेश प्रमुख भट्ट

Share:

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकभजन चुड्का नेपालको मौलिक सांस्कृतिक सम्पदा मात्र नभई अध्यात्मिक चेतना, सामाजिक सद्भाव र राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार भएको बताएका छन् ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले नेपालको सांस्कृतिक विविधताले नै राष्ट्रिय जीवनलाई समृद्ध बनाएको उल्लेख गरे ।

“नेपालको मौलिक पहिचान यसको सांस्कृतिक विविधतामा निहित छ। भजन चुड्कामा रहेको ऊर्जा, सङ्गीतको गहिराइ र अनुशासन संसारका अन्य धेरै सङ्गीतमा दुर्लभ छ,” प्रदेश प्रमुख भट्टले भने ।

उनका अनुसार भजन चुड्का केवल भगवानप्रतिको प्रार्थना वा भक्तिगान मात्र नभई सत्य, करुणा, नैतिकता, सहिष्णुता, अनुशासन, सामाजिक एकता र मानव सेवाको सन्देश प्रवाह गर्ने जीवनदर्शन पनि हो। गाउँघरका मन्दिर, भजनमण्डली र सामुदायिक जमघटमा पुस्तौंदेखि गुञ्जिँदै आएको यस परम्पराले नेपाली समाजलाई एकसूत्रमा बाँध्न महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो।

गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक सम्पदामा पनि अत्यन्त धनी रहेको उल्लेख गर्दै उनले खैंजडीको ताल, मुजुराको झङ्कार र लोकभजनको सुगन्ध मिसिएको यो भूमि लोकसंस्कृति र भजनको उद्गमस्थलका रूपमा परिचित रहेको बताए ।

प्रदेश प्रमुख भट्टले आधुनिक प्रविधि, विश्वव्यापीकरण र बदलिँदो जीवनशैलीका कारण परम्परागत कला–संस्कृतिहरू चुनौतीमा परेको उल्लेख गर्दै मौलिक सम्पदाको संरक्षणलाई साझा दायित्वका रूपमा लिनुपर्नेमा जोड दिए ।

“संरक्षण भनेको विगतको सम्झना जोगाउनु मात्र होइन, भावी पुस्तालाई आफ्नो पहिचान, संस्कृति र सभ्यतासँग जोड्ने दायित्व पनि हो,” उनले भने ।

आधुनिकीकरण र पश्चिमा संस्कृतिको बढ्दो प्रभावले रैथाने कला र संस्कृतिहरू संकटमा पर्दै गएको भन्दै उनले अबको मुख्य चुनौती भजन चुड्कालाई नयाँ पुस्तासम्म प्रभावकारी रूपमा पु¥याउनु रहेको बताए ।

यस अभियानमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानले निर्वाह गरिरहेको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो । कार्यक्रममा प्रदेश प्रमुख भट्टले भजन चुड्का प्रस्तुत गरेर दर्शकको मन जितेका ७ वर्ष र १२ वर्षका दुई बालकलाई नगद पुरस्कार प्रदान गर्दै उनीहरूको प्रतिभाको सम्मान तथा थप हौसला प्रदान गरे ।

कमेन्ट गर्नुहोस्
Share: