फेवातालमा हावाहुरीले अलपत्र परेकी युवतीको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

Share:

पोखरा । पोखराको प्रसिद्ध पर्यटकीय गन्तव्य फेवातालमा कायकिङ गरिरहेकी एक युवती अचानक आएको तीव्र हावाहुरीका कारण तालको बीच भागमा अलपत्र परेपछि सशस्त्र प्रहरी बलको विशेष विपद् उद्धार टोलीले उनको सकुशल उद्धार गरेको छ।

काठमाडौँको नारायणटार स्थायी घर भई पोखरा घुम्न आएकी २३ वर्षीया रितिका फुयाल फेवातालमा कायकिङ गरिरहेकी थिइन्। सोही क्रममा मौसम एकाएक बिग्रिएर तीव्र हावाहुरी चलेपछि उनी तालको बीच भागमा फसेर बाहिर निस्कन नसकेको सशस्त्र प्रहरीले जनाएको छ।

घटनाबारे सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका, कास्कीअन्तर्गत फेवातालस्थित ‘फेवा वाच एन्ड रेस्क्यु टावर’मा खटिएको विशेष विपद् उद्धार टोली तत्काल परिचालन गरिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा पुगेको टोलीले खोजतलास गर्दै फुयाललाई तालको बीच भागबाट सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको थियो।

उद्धारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको नं. २४ गण हेडक्वार्टर कालिका, कास्कीले जनाएको छ। वर्षायामसँगै पोखरामा मौसम एकाएक परिवर्तन हुने र फेवातालमा हावाहुरी चल्ने सम्भावना रहने भएकाले जलक्रीडामा सहभागी हुनेहरूले मौसमको अवस्था बुझेर आवश्यक सतर्कता अपनाउन सुरक्षाकर्मीले आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: