भैरहवादेखि कोरलासम्म पर्यटकीय राजमार्ग निर्माण गरिने

Share:

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोर अन्तर्गतको कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि आइतबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा उनले यस्तो योजना सुनाएका हुन् ।

दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई चाँडै स्तरोन्नति गरिने उनले बताए । ‘आर्थिक समृद्धिको मूल आधार पर्यटन भएकाले यसलाई पर्यटकीय राजमार्गका रूपमा स्थापित गरिनेछ,’ उनले भने । मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी उनले दिए ।

मुक्तिनाथ क्षेत्रमा उचाइका कारण पर्यटक बिरामी हुने (लेक लाग्ने) समस्यालाई उनले गम्भीरतापूर्वक लिएका छन् । यो समस्या समाधानका लागि पर्यटकलाई ‘टाइम कार्ड’ लागू गर्न उनले सरोकारवाला निकायलाई सुझाव दिए । यसबाट पर्यटकको स्वास्थ्य सुरक्षामा सुधार आउने उनको विश्वास छ ।

छलफलमा मुस्ताङका पर्यटन व्यवसायी र संघसंस्थाका प्रतिनिधिले पर्यटन क्षेत्रका सम्भावना र चुनौतीबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए । उनीहरूले स्थानीय पर्यटन प्रवद्र्धनका लागि मन्त्रीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा मुस्ताङका पर्यटनसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: