पोखराबाट दुबई उडानको दीर्घकालीन तयारी, फ्लाइ दुबईले २०२७ सम्म खुलायो बुकिङ

Share:

पोखरा । पोखराबाट दुबईसम्मको अन्तर्राष्ट्रिय हवाई उडानलाई स्थायित्व दिने संकेत गर्दै फ्लाइ दुबईले सन् २०२७ को मार्च २६ सम्मका लागि उडान तालिका सार्वजनिक गर्दै अग्रिम बुकिङ खुला गरेको छ। यसअघि कम्पनीले भदौ ७ गतेदेखि एक महिनाका लागि मात्रै दैनिक एउटा उडान गर्ने घोषणा गरेको थियो।

फ्लाइ दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले पोखरा-दुबई उडानलाई दीर्घकालीन र दिगो बनाउने लक्ष्यका साथ कम्पनी अघि बढिरहेको बताए। उनले काठमाडौं-दुबई उडानको उदाहरण दिँदै सुरुआतमा हप्ताको चार उडानबाट सुरु भएको सेवा अहिले दैनिक चार उडानसम्म विस्तार भएको स्मरण गराए।

शाहीका अनुसार पोखराबाट सुरु भएको उडान सफल भए यात्रुले दुबईमार्फत विश्वका २६० भन्दा बढी गन्तव्यमा सहज पहुँच पाउनेछन्। उनले स्थानीय नागरिक, पर्यटन व्यवसायी र सरोकारवालाको सक्रिय सहयोगले मात्र यो सेवा दीर्घकालीन बन्न सक्ने उल्लेख गरे। भैरहवा उडानबाट कम्पनीले अपेक्षित सफलता हासिल गर्न नसकेको अनुभवसमेत उनले साझा गरे।

पोखरा उद्योग वाणिज्य संघसँग भएको छलफलमा संघका अध्यक्ष गोकर्ण कार्कीले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनु ऐतिहासिक उपलब्धि भएको बताए। विमानस्थल निर्माणका लागि गरिएको लामो संघर्ष सम्झँदै उनले उडानलाई निरन्तरता दिन निजी क्षेत्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा फ्लाइ इमिरेट्सका नेपाल प्रमुख रमेश लामिछानेले उडानलाई दीर्घकालीन बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले यो उडान सफल भए पोखराको पर्यटन र अर्थतन्त्रले नयाँ गति लिने, असफल भए विकासको यात्रा वर्षौं पछाडि धकेलिन सक्ने चेतावनी दिए।

करिब २२ अर्ब रुपैयाँको चिनियाँ ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको लामो समयसम्म नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडानविहीन रहँदै आएको थियो। केही चार्टर उडान र सिचुवान एयरलाइन्सका सीमित उडानबाहेक सेवा निरन्तर हुन सकेको थिएन।

यस्तो अवस्थामा फ्लाइ दुबईले सन् २०२७ सम्मको बुकिङ खुलाउनु पोखराका लागि सकारात्मक संकेत मानिएको छ। यदि यो उडान सफल र नियमित रूपमा सञ्चालन हुन सकेमा पोखराको पर्यटन, वैदेशिक रोजगारी, व्यापार तथा समग्र आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: