पोखरा विश्वविद्यालयमा नयाँ उपकुलपतिको ‘३० दिनमा नतिजा’ घोषणा, मापदण्ड नपुगे सम्बन्धन रद्द हुने

Share:

पोखरा । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले पदभार ग्रहणसँगै विश्वविद्यालयमा समयबद्ध, गुणस्तरीय र अनुसन्धानमुखी शैक्षिक प्रणाली लागू गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। उनले परीक्षा सम्पन्न भएको ३० दिनभित्र नतिजा प्रकाशन, शैक्षिक क्यालेन्डरको पूर्ण कार्यान्वयन र गुणस्तर नपुगेका कलेजको सम्बन्धन रद्दसम्म गर्न सकिने स्पष्ट चेतावनी दिएका छन्।

सोमबार पोखरा-३०, खुदीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै अधिकारीले विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टता, अनुसन्धान, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रियकरणतर्फ अग्रसर गरिने बताए। सम्पूर्ण शैक्षिक तथा प्रशासनिक सेवा एउटै डिजिटल प्लेटफर्मबाट सञ्चालन हुने गरी एकीकृत प्रणाली (इन्टिग्रेटेड सिस्टम) विकास गरिने उनको भनाइ छ।

उनले गुणस्तरीय शिक्षाका लागि न्यूनतम शैक्षिक मापदण्ड कडाइका साथ लागू गरिने उल्लेख गर्दै मापदण्ड पूरा नगर्ने कलेजलाई सुधारको अवसर दिइने, सुधार नभए सम्बन्धन खारेजसम्मको प्रक्रिया अघि बढाइने बताए। विश्वविद्यालयलाई सरकारी अनुदानमा मात्र निर्भर नराखी आत्मनिर्भर बनाउने लक्ष्यसहित नयाँ कार्यक्रम सञ्चालन गरिने र त्यसका लागि सरोकारवालाको विश्वास जित्नुपर्नेमा उनले जोड दिए।

उपकुलपति अधिकारीले विश्वविद्यालयको वास्तविक पहिचान अनुसन्धान र नवप्रवर्तनबाट स्थापित हुने उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान, संयुक्त सहकार्य, उद्योग/विश्वविद्यालय साझेदारी तथा पेटेन्ट अधिकारलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार यी पहलले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय श्रेणीकरण (र्‍यांकिङ) मा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछन्।

उनले विश्वविद्यालय सभा, प्राज्ञिक परिषद् र कार्यकारी परिषद्लाई छिट्टै पूर्णता दिई विकासका योजनालाई तीव्र गतिमा अघि बढाइने पनि जानकारी दिए। मोरङको विराटनगरका स्थायी बासिन्दा अधिकारीसँग उच्च शिक्षाको क्षेत्रमा करिब तीन दशकको अनुभव छ।

भारतको तिलका माझी भागलपुर विश्वविद्यालयबाट भौतिकशास्त्रमा विद्यावारिधि गरेका उनले सन् १९९६ मा पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस, पोखराबाट सहायक प्राध्यापकका रूपमा सेवा सुरु गरेका थिए। उनी सन् २०१३ देखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भौतिकशास्त्रका प्राध्यापकका रूपमा कार्यरत छन्।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वअध्यक्षसमेत रहेका अधिकारीले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राध्यापक छनोट समितिमा समेत जिम्मेवारी सम्हालिसकेका छन्। उनका ७० भन्दा बढी अनुसन्धानमूलक लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् भने उनी विभिन्न अन्तर्राष्ट्रिय जर्नलका प्रधान सम्पादक पनि हुन्।

कार्यक्रममा निवर्तमान उपकुलपति प्रा.डा. विष्णुराज तिवारीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे भने रजिष्टार प्रा. हरिबहादुर खड्काले विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, पूर्वाधार निर्माण, छात्रवृत्ति तथा बजेटसम्बन्धी कामहरू नियमित रूपमा अघि बढिरहेको जानकारी दिए। विभिन्न संकायका डीन, परीक्षा नियन्त्रक, स्कुल तथा अस्पतालका निर्देशक, शिक्षक, कर्मचारी र विद्यार्थीको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: