
काठमाडौं । लामो समयदेखि काठमाडौंको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई दुःख दिनेहरू पक्राउ परेका छन्। यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने, सामान र झोला तान्ने र दुःख हैरानी दिने १७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
अनावश्यक रूपमा दुःख र हैरानी दिएको भन्ने पैदलयात्रीको गुनासोका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा काभ्रेका सुमन लामा, बाराका अजयराम महरा र कलाम हवारी, पर्साका तीर्थ मल्लिक, उदयपुरका बस्नेत कार्की र सर्लाहीका सिकिन्दर महतो रहेका छन् ।
यस्तै, काभ्रेकै अर्जुन लामा, सुरेन्द्र तामाङ र साजन मगर, मकवानपुरका महेश राई, चितवनका रामकृष्ण गिरी, कीर्तिपुरका सन्तोष स्याङ्तान लगायत पनि पक्राउ परेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।
