
पोखरा । कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा बिजुली प्रवाह सुरु गरेको छ।
करिब पाँच अर्ब पाँच करोड रुपैयाँ लगानीमा बनेको आयोजना अब १५ दिनको प्राविधिक परीक्षणपछि नियमित व्यावसायिक उत्पादनमा जानेछ।
सेती खोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धित आयोजना २०७८ मङ्सिरमा निर्माण सुरु भएको थियो। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले निरीक्षण तथा परीक्षण सम्पन्न गरेपछि आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएको कम्पनीका निर्देशक दीपक बरालले जानकारी दिए।
आयोजनाको बाँध पोखरा-३३ को तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट ३,१०६ मिटर लामो सुरुङमार्ग हुँदै पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्याइन्छ, जहाँ ११/११ मेगावाट क्षमताका दुई टर्बाइन जडान गरिएका छन्।
गत मङ्सिरमै उत्पादन सुरु गर्ने लक्ष्य रहे पनि प्रसारण लाइनका लागि आवश्यक वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा आयोजना केही महिना पछि सञ्चालनमा आएको हो।
आयोजना पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी पनि कम्पनीले गरेको छ।
सेती नदीमा जलविद्युत् उत्पादनको सम्भावना थप विस्तार हुँदै गएको छ। गत वर्ष २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको छ भने हाल आधा दर्जनभन्दा बढी आयोजना विभिन्न चरणमा निर्माण भइरहेका छन्।
