पृथ्वीचोकमा आधुनिक बसपार्क निर्माणले गति लिँदै, सुकुम्वासी व्यवस्थापनको ६२७ पृष्ठे प्रतिवेदन महानगरलाई बुझाइयो

Share:

पोखरा। पृथ्वीचोकमा सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने पोखरा महानगरपालिकाको बहुप्रतीक्षित योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। बसपार्क क्षेत्रभित्र बसोबास गरिरहेका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको अवस्थाबारे अध्ययन गर्न गठित समितिले ६२७ पृष्ठ लामो विस्तृत प्रतिवेदन महानगरपालिकालाई बुझाएको छ।

समितिका संयोजक तथा पोखरा महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले उक्त प्रतिवेदन महानगर प्रमुख धनराज आचार्यसमक्ष हस्तान्तरण गरेका हुन्। प्रतिवेदनमा बसोबासीहरूले पेस गरेका कागजातहरूको अध्ययन, छानबिन तथा अवस्थाको विस्तृत विवरण समेटिएको जनाइएको छ।

प्रतिवेदन ग्रहण गर्दै महानगर प्रमुख धनराज आचार्यले यसलाई महानगरका लागि महत्त्वपूर्ण दस्ताबेजको रूपमा लिइएको बताए। उनले प्रतिवेदनमाथि आवश्यक अध्ययन, विश्लेषण र कानुनी परीक्षणपछि उपयुक्त समयमा सार्वजनिक गरिने जानकारी दिए।

नगर प्रमुख आचार्यले आधुनिक बसपार्क निर्माणको कामलाई व्यवस्थित, पारदर्शी र कानुनी प्रक्रियाअनुसार अघि बढाइने स्पष्ट पार्दै बसपार्क क्षेत्रमा रहेका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको उचित व्यवस्थापनमा महानगर प्रतिबद्ध रहेको बताए।

महानगरले आधुनिक बसपार्क निर्माणसँगै सामाजिक न्याय र व्यवस्थित पुनःस्थापनालाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइरहेको जनाएको छ। यससँगै पृथ्वीचोक क्षेत्रको दीर्घकालीन पूर्वाधार विकासले थप गति लिने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: