कौराहा मगर समुदायको मौलिक सांस्कृतिक पहिचान, राष्ट्रिय सूचीकरण आवश्यक : अध्यक्ष रैका मगर

Share:

पोखरा। नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षबहादुर रैका मगरले मगर समुदायको मौलिक सांस्कृतिक सम्पदा कौराहालाई संरक्षण गर्दै राष्ट्रिय स्तरमा सूचीकरण गर्नुपर्नेमा जोड दिएका छन्। विभिन्न समुदायले मगर संस्कृतिमाथि आफ्नो दाबी गर्न थालेको अवस्थामा मगर समुदाय स्वयं आफ्नो मौलिक संस्कार र संस्कृतिको संरक्षणमा एकजुट हुनुपर्ने उनले बताएका हुन्।

नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिको सहकार्यमा शुक्रबार पोखरामा आयोजित ‘मगर मौलिक कौराहा संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष रैका मगरले कौराहाको उत्पत्ति मगर समुदायबाट भएकाले यसको आधिकारिक सूचीकरण अबको प्राथमिकता हुनुपर्ने बताए।

उनले भने, “यदि हामीले आफ्ना मौलिक सम्पदाको सूचीकरण गर्न सकेनौं भने भविष्यमा अरूले त्यसमा हक दाबी गर्न सक्छन्। यस विषयमा सरकारले पनि आवश्यक ध्यान दिएको छैन। त्यसैले आफ्नो संस्कार, संस्कृति र पहिचान जोगाउन समुदाय नै संगठित भएर अघि बढ्नुपर्ने समय आएको छ।”

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष हर्क आले मगरले ‘कौराहाको इतिहास र सांस्कृतिक महत्व’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै कौराहा मगर समुदायको अमूल्य सांस्कृतिक सम्पदा भएको बताए। उनका अनुसार जिल्लाअनुसार कौराहाको प्रस्तुति फरक देखिए पनि यसको मूल संस्कार र सांस्कृतिक मूल्य एउटै रहेको छ।

उनले मगर भाषाको ‘कानराहा’ शब्दबाट ‘कौराहा’ शब्द बनेको उल्लेख गर्दै कौराहाको गहिराइ र महत्व शब्दमा वर्णन गर्न नसकिने बताए। मगर समुदायको बाक्लो बसोबास भएका क्षेत्रमा कौराहा नृत्य विशेष रूपमा प्रचलित रहेको र माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म यसको प्रस्तुति हुने परम्परा रहेको उनले जानकारी दिए।

“कौराहा मगर समुदायबाट सुरु भए पनि अहिले अन्य समुदायले पनि यसको अभ्यास र संरक्षणमा चासो देखाउनु सकारात्मक पक्ष हो,” उनले भने।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका विज्ञ समूहका संयोजक यामबहादुर आले मगरले कुनै पनि समुदायको अस्तित्व कमजोर पार्न त्यसको भाषा, संस्कार र संस्कृतिमाथि प्रहार गरिने भएकाले सबै सचेत रहनुपर्ने बताए। उनले आफ्नो इतिहास, संस्कृति र पहिचानको संरक्षणका लागि समुदायगत एकता अपरिहार्य रहेको उल्लेख गर्दै वर्तमान परिस्थितिमा आदिवासी जनजातिको पहिचान संरक्षण अझ चुनौतीपूर्ण बन्दै गएको बताए।

नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिकी केन्द्रीय सदस्य गीता रखाली मगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संघका सचिव बलबहादुर रोका मगरले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: