
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक भारतीय युवकलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले उद्धार गरेको छ ।
पोखरा महानगरपालिका-६ स्थित फेवातालमा शनिबार दिउँसो करिब १ः५० बजे पौडी खेल्ने क्रममा अन्दाजी २४ वर्षीय भारतीय नागरिक रोहित कुमार डुबेर बेपत्ता भएका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्कीअन्तर्गत फेवा वाच एण्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देबेन्द्र के.सी.को नेतृत्वमा विपद् व्यवस्थापन टोली तत्काल खोज तथा उद्धारमा परिचालन भएको थियो ।
टोलीले करिब २ः१० बजे फेवातालको करिब १० फिट गहिराइबाट रोहित कुमारलाई अचेत अवस्थामा फेला पारी सुरक्षित रूपमा बाहिर निकालेको थियो ।
उद्धारपछि उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाइएको सशस्त्र प्रहरी बल नम्बर २४ गण कालिका, कास्कीले जनाएको छ ।
सशस्त्र प्रहरीको तदारुकता र शीघ्र उद्धार प्रयासले डुबेका युवकलाई समयमै अस्पताल पु¥याउन सफल भएको जनाएको छ ।
