
पोखरा । मगर समुदायको मौलिक संस्कृति, भाषा र पहिचान संरक्षणमा पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्याएको भन्दै पत्रकार मीना थापामगरलाई ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार-२०८३’ प्रदान गरिएको छ।
नेपाल मगर पत्रकार संघ कास्कीद्वारा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिको स्थापना गरेको उक्त पुरस्कारअन्तर्गत थापामगरलाई गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले नगद १५ हजार रुपैयाँ, सम्मानपत्र र घलेकी प्रदान गर्दै सम्मान गरे।
सम्मान कार्यक्रममा बोल्दै मन्त्री शेरचनले आदिवासी जनजातिको भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन राज्यको साझा दायित्व भएको बताए। गण्डकी प्रदेश सांस्कृतिक विविधताले सम्पन्न प्रदेश भएकाले यहाँका मौलिक संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
संविधानले आदिवासी जनजातिसहित सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले संविधानविरुद्ध गलत भाष्य निर्माण गर्नु उपयुक्त नहुने बताए। “संविधानले सबै नागरिकलाई बराबरीको अधिकार दिएको छ। समयअनुसार सोच र व्यवहार परिवर्तन गर्न सके मात्रै समाज र देश अगाडि बढ्न सक्छ,” उनले भने।
नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षबहादुर रैका मगरले मगर समुदायको भाषा, संस्कृति र इतिहास संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। राष्ट्रिय जनगणनामा मगर समुदाय तेस्रो ठूलो समुदाय भए पनि राज्यको बेवास्ताका कारण समुदाय अझै पछाडि परेको उनले बताए।
गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजी भाषाका रूपमा लागू गर्ने निर्णय गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा अझै चुनौती रहेको भन्दै उनले त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले सञ्चार क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढाउन विशेष पहल आवश्यक रहेको बताइन्। आदिवासी जनजातिको इतिहास, संस्कृति र पहिचानलाई पत्रकारितामार्फत समाजमा स्थापित गर्न महिला पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले यस्ता पुरस्कारले महिला पत्रकारलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गरिन्।
सम्मानित पत्रकार मीना थापामगरले पुरस्कारले आफ्नो जिम्मेवारी अझ बढाएको बताउँदै मगर समुदायको भाषा, संस्कृति र मौलिक पहिचानका विषयमा निरन्तर कलम चलाउने प्रतिबद्धता व्यक्त गरिन्। “यो सम्मानले मलाई अझ समर्पित भएर पत्रकारिता गर्न प्रेरणा दिएको छ,” उनले भनिन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’, निट डेन्टलका सञ्चालक वीरेन राना मगरलगायतले कौराहा संरक्षणमा पत्रकारिताको योगदान महत्त्वपूर्ण रहेको धारणा राखेका थिए।
प्रतिभा छनोट समितिका संयोजक रुद्र श्रीस मगरले सम्मानित पत्रकार मीना थापामगरको व्यक्तित्व तथा योगदानबारे प्रकाश पारेका थिए भने राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिकी अध्यक्ष नरमाया आले मगरले पुरस्कारलाई आगामी वर्षहरूमा अझ परिस्कृत र प्रभावकारी बनाउँदै निरन्तरता दिइने बताइन्।
कार्यक्रममा चाउथे कदममार्ग इकाई समितिले मौलिक कौराहा नृत्य प्रस्तुत गरेको थियो भने मगर सांस्कृतिक संघका सदस्य रमेश थापामगरलगायतका कलाकारले कौराहा गीतमार्फत कार्यक्रमलाई सांस्कृतिक आकर्षण प्रदान गरेका थिए।
यसअघि उक्त प्रतिष्ठित पुरस्कारबाट कमला राना मगर, तिलक पुन, प्रताप राना मगर, खेम सारु मगर, एमबी आस्था मगर, मनोज घर्ती मगर, रुद्र श्रीस मगर र शारदा झेडी मगर सम्मानित भइसकेका छन्।
