
पोखरा। आधुनिक पर्वतारोहणको ऐतिहासिक सुरुआत भएको अन्नपूर्ण हिमालको गौरवलाई स्मरण गर्दै गण्डकी प्रदेश सरकारले आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेका प्रदेशका ६ जना साहसी पर्वतारोहीलाई नगदसहित सम्मान गरेको छ।
साहसिक पर्वतारोहणमार्फत नेपालको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा विशिष्ट योगदान पुर्याएको भन्दै शुक्रबार आयोजित विशेष समारोहमा उनीहरूलाई जनही ४५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले सम्मान प्रदान गरेका थिए।
सम्मानित हुनेमा गोरखाकी नाङ्सल छ्योटोन लामा, पर्वतका किरणबहादुर पिसी र देवीप्रसाद न्यौपाने, कास्कीका किशोर अधिकारी, तथा तनहुँका अमित थापा र नवराज राना रहेका छन्। उनीहरूले सगरमाथा, अन्नपूर्ण, मनास्लु, ल्होत्से र कञ्चनजंघाजस्ता विश्वप्रसिद्ध हिमालको सफल आरोहण गर्दै नेपालको पर्वतारोहण क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेका छन्।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले हिमाल नेपालको प्राकृतिक सम्पदा मात्र नभई सभ्यता, संस्कृति र पर्यटनको मेरुदण्ड भएको बताए। विश्वभर योग, ध्यान र वेलनेस पर्यटनप्रति आकर्षण बढिरहेको उल्लेख गर्दै उनले गण्डकीका हिमाली क्षेत्रलाई साहसिक पर्यटनसँगै आध्यात्मिक तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए।
उनले दिगो पर्यटन विकासमार्फत प्रदेशको आर्थिक समृद्धि हासिल गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै पर्यटकीय अफ-सिजनमा समेत पोखरा र आसपासका क्षेत्रमा बढ्दो पर्यटक चहलपहल सकारात्मक संकेत भएको बताए।
उद्योग तथा पर्यटनमन्त्री रिमालले नेपालमा आधुनिक पर्वतारोहणको इतिहास गण्डकी प्रदेशबाटै सुरु भएको स्मरण गराइन्। सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण गरेपछि नेपाल विश्व पर्वतारोहणको केन्द्रका रूपमा परिचित भएको उल्लेख गर्दै उनले पर्वतारोहीहरूको साहस र समर्पणले नेपालको अन्तर्राष्ट्रिय छवि उँचो बनाएको बताइन्।
मन्त्रालयका सचिव रोशन ज्ञवालीले गण्डकी प्रदेश साहसिक पर्यटनको प्रमुख गन्तव्य भएको उल्लेख गर्दै नयाँ पर्यटन नीति कार्यान्वयनसँगै पर्यटन क्षेत्रमा थप सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। मन्त्रालयका उपसचिव टीकाराम पौडेलले वार्षिक स्वीकृत कार्यक्रमअनुसार उत्कृष्ट पर्वतारोहीहरूलाई सम्मान गरिएको जानकारी दिए।
सम्मानित पर्वतारोही देवीप्रसाद न्यौपानेले हिमालको सौन्दर्य जति मनमोहक देखिए पनि त्यसको आरोहण उत्तिकै जोखिमपूर्ण हुने अनुभव सुनाए। उचाइ बढ्दै जाँदा तीव्र हावा, लेक लाग्ने समस्या र प्रतिकूल मौसमले आरोहणलाई चुनौतीपूर्ण बनाउने उल्लेख गर्दै उनले हिमाल चढ्न शारीरिक तयारीसँगै अदम्य साहस र मानसिक दृढता आवश्यक पर्ने बताए।
मन्त्रालयका अनुसार विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये नेपालमा ८ वटा रहेका छन्। तीमध्ये अन्नपूर्ण, मनास्लु र धौलागिरि गण्डकी प्रदेशभित्र पर्छन्। जलवायु परिवर्तन र बढ्दो मानवीय गतिविधिका कारण हिमालमा फोहोर व्यवस्थापन चुनौती बन्दै गएकाले प्रदेश सरकारले दिगो पर्यटन, हिमाल संरक्षण र पर्यटकको बसाइ अवधि तथा खर्च वृद्धि गर्ने रणनीतिलाई प्राथमिकतामा राखेको जनाएको छ।
