
काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित चतुचक क्षेत्रमा रहेको एक बारमा आइतबार मध्यराति भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। घटनापछि अझै केही व्यक्ति हराइरहेको आशंका गरिएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारबाट अग्लो आगोको मुस्लो निस्किएको, मानिसहरू ज्यान बचाउन भागदौड गरिरहेको तथा चिच्याइरहेको दृश्य देखिन्छ। केही व्यक्तिहरू भाग्ने क्रममा लडेको समेत भिडियोमा देखिन्छ।
घटनास्थल पुगेका थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले हालसम्म २७ जनाको शव निकालिएको पुष्टि गर्दै घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए। उनले आगलागीको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको बताए।
स्थानीय सञ्चारमाध्यमका अनुसार दमकलकर्मीले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए। तर त्यसअघि नै बारमा ठूलो जनधनको क्षति भइसकेको थियो।
प्रारम्भिक विवरणअनुसार मृत्यु हुनेमध्ये ९ पुरुष र १८ महिला रहेका छन्। आगलागीका बेला बारमा सांगीतिक प्रस्तुति दिइरहेका एक संगीतकारसँग प्रहरीले सोधपुछ गरेको छ।
संगीतकारका अनुसार सुरुमा विद्युतीय कट-आउट स्विचबाट आगो लागेको थियो। त्यसलगत्तै ठूलो विस्फोट भएको र केही क्षणमै आगोले सम्पूर्ण बारलाई आफ्नो नियन्त्रणमा लिएको उनले बताएका छन्।
घटनाको कारण, हराइरहेका व्यक्तिको अवस्था तथा क्षतिको पूर्ण विवरणबारे थाई अधिकारीहरूले थप अनुसन्धान जारी राखेका छन्।
