
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले बहुमूल्य क्रिस्टलको प्रलोभन देखाएर ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूले पोखरा महानगरपालिका-१८ निवासी दिपेन्द्र तिमिल्सिनालाई आफूहरूसँग अन्धकारमा प्रकाश दिने, पानीलाई जमाएर डल्लो बनाउने तथा फूलको कोपिलालाई तुरुन्तै फुलमा परिणत गर्ने अद्भुत शक्तियुक्त बहुमूल्य क्रिस्टल रहेको र यसको खरिद-बिक्रीबाट अर्बौँ रुपैयाँ आम्दानी हुने भन्दै फोटो तथा भिडियोसमेत देखाई विश्वास दिलाएका थिए।
त्यसरी विभिन्न प्रलोभन र झुक्यानमा पारेर उनीहरूबाट नगद १० लाख रुपैयाँ ठगी गरेको तथा पछि थप २० लाख रुपैयाँ माग्दै रकम नदिए विभिन्न किसिमका डर-धम्की दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले आज (असार २९ गते) बिहान करिब १२ः३० बजे पोखरा महानगरपालिका-२६ कालिकास्थान छहारीबाट घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट सेतो टल्किने क्रिस्टलजस्तो देखिने लाम्चो आकारको एक थान वस्तु, काठको फोल्डिङ बट्टा एक थान, चार्जर एक थान तथा ६ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा डिलबहादुर बुढाथोकी, दिपक गोतामे, प्रेमचन्द विश्वकर्मा, राजन विश्वकर्मा, रोशनी सुनार र खैसरा सुनार रहेका छन्।
उनीहरूविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
