
पोखरा । पोखरा महानगरपालिका-३२ मझुवाबाट ठूलो परिमाणमा लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लागू औषध नियन्त्रण ब्युरो पोखरा र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो (असार २८ गते राति) करिब १० बजे लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सवारी साधन जाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको भारतमा दर्ता भएको यूपी ५३ ईवाई ७७०४ नम्बरको कार रोकी खानतलासी गरेको थियो।
जाँचका क्रममा कारको विभिन्न भागमा लुकाइछिपाइ राखिएको डाइजापाम ६०० एम्पुल, फेनरागन ६४८ एम्पुल, बुप्रिनोर्फिन ६०० एम्पुल गरी कुल एक हजार ८४८ एम्पुल, नाइट्रोभ्याट ३० चक्की, ट्यापेन्टाडोल १०० चक्की, ट्रामाडोल ३८० चक्की तथा पाँच थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधसहित पक्राउ पर्नेमा भारत, उत्तर प्रदेशको गोरखपुर निवासी २७ वर्षीय विकास कुमार, २९ वर्षीय आशिष कुमार, २९ वर्षीय अभय कुमार मिश्रा, ३३ वर्षीय पृतम कुमार र २५ वर्षीय अभिषेक कुमार रहेका छन्।
उनीहरूविरुद्ध लागू औषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
