भानुभक्तको सम्झनामा कवितामय बन्यो शुक्ला साहित्य प्रतिष्ठान

Share:

पोखरा । नेपाली भाषा-साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा शुक्ला साहित्य प्रतिष्ठान, पोखराले विशेष साहित्यिक कार्यक्रम आयोजना गर्दै भानु जयन्ति मनाएको छ।

विगतका वर्षदेखि निरन्तर रूपमा भानु जयन्ति मनाउँदै आएको प्रतिष्ठानले यस वर्ष आदिकवि भानुभक्तप्रति समर्पित कविता वाचन कार्यक्रममार्फत उनको साहित्यिक योगदानलाई स्मरण गरेको हो।

कार्यक्रमको उद्घाटन गर्दै कवि तथा प्रतिष्ठानका पूर्व अध्यक्ष नेत्रबहादुर बानियाँले भानुभक्त आचार्य नेपाली भाषा र साहित्यका युगप्रवर्तक स्रष्टा भएको उल्लेख गर्दै उनको कवित्व र व्यक्तित्वमाथि प्रकाश पारे। उनले भानुभक्तद्वारा रचित भानुभक्तीय रामायण का श्लोकसमेत वाचन गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक कुञ्जराज थापा, मानार्थ सदस्य कुलबहादुर खत्री तथा पूर्व अध्यक्ष हरिबहादुर बरुवालले आदिकविप्रति सच्चा सम्मान व्यक्त गर्न राज्यले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए। पूर्व अध्यक्ष बरुवालले रामायण वाचन गरेर कार्यक्रमलाई थप साहित्यिक बनाएका थिए।

प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि छविलाल आचार्य, इन्दु भट्टराई र पत्रकार यदुनाथ बञ्जराले भानुभक्तप्रति समर्पित कविता वाचन गरेका थिए।

प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहसचिव संजय थापाले गरेका थिए। भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै सम्पन्न कार्यक्रमले साहित्यप्रेमीहरूलाई एकै थलोमा जुटाएर सिर्जना र साहित्यप्रतिको सम्मानलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: