
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली भाषा-साहित्यका आदिकवि भानुभक्त आचार्यले विश्वभर रहेका नेपालीलाई भाषा र साहित्यमार्फत एउटै भावनात्मक सूत्रमा जोड्ने ऐतिहासिक भूमिका निर्वाह गरेको बताएका छन् ।
भानु वाङ्मय प्रतिष्ठान, पोखराले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले भानुभक्त नेपाली भाषालाई साझा र लोकप्रिय भाषाका रूपमा स्थापित गर्ने युगप्रवर्तक स्रष्टा भएको उल्लेख गरे ।
उनले भानुभक्तको साहित्यिक योगदानले भाषा र समाजबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै राष्ट्रिय एकता, सांस्कृतिक आत्मविश्वास र नेपालीपनको साझा भावनालाई बलियो बनाएको बताए ।
‘आज विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायले नेपाली भाषा र साहित्यलाई जीवित राखिरहेका छन्। यो आदिकवि भानुभक्तको योगदानको निरन्तरता हो,’ उनले भने ।
प्रदेश प्रमुख भट्टका अनुसार संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल र जनबोलीको नेपाली भाषामा रूपान्तरण गरेर भानुभक्तले साहित्यलाई आमजनताको जीवनसँग जोडेका थिए । यही ऐतिहासिक कार्यले नेपाली भाषालाई साझा सांस्कृतिक पहिचानको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार गरेको उनको भनाइ थियो।
उनले भानुभक्तका कृतिमा धार्मिक चेतनामात्र नभई नैतिकता, मानवता, सामाजिक उत्तरदायित्व, कर्तव्यबोध र लोककल्याणको गहिरो सन्देश समेटिएको उल्लेख गरे ।
आजको पुस्ताले भानुभक्तलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी उनका कृतिलाई डिजिटल माध्यम, अनुसन्धान, अध्ययन, साहित्यिक विमर्श र सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा पनि उनले जोड दिए ।
गण्डकी प्रदेश भाषा, साहित्य, कला र संस्कृतिका दृष्टिले समृद्ध प्रदेश भएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले प्रदेशका साहित्यिक संस्था, अनुसन्धान केन्द्र, शैक्षिक प्रतिष्ठान र स्रष्टाहरूले नेपाली भाषा तथा साहित्यको संरक्षण र प्रवर्द्धनमा निरन्तर योगदान पुर्याइरहेकोमा खुसी व्यक्त गरे ।
यस अवसरमा उनले नेपाली भाषाको उन्नयन र प्रवर्द्धनका लागि उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान गर्दै प्रेरणा जगाउने कार्य गरेको भन्दै आयोजक भानु वाङ्मय प्रतिष्ठानप्रति आभारसमेत व्यक्त गरे ।
