
पोखरा । आदिवासी जनजाति पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएबापत वरिष्ठ पत्रकार रुद्रबहादुर हितानमगर र इन्दिरा गुरुङ कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले स्थापना गरेको कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार अन्तर्गत हितानमगरलाई २०८२ सालको तथा गुरुङलाई २०८३ सालको पुरस्कार प्रदान गरिएको हो।
गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी र पुरस्कारदाता कर्म गुरुङले दुवै पत्रकारलाई भांग्रा, घलेक, सम्मानपत्र तथा जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरे ।
कार्यक्रममा बोल्दै प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारितामा समर्पित व्यक्तित्वको सम्मानले नयाँ पुस्ताका पत्रकारलाई व्यावसायिक, जिम्मेवार र सिर्जनशील पत्रकारितातर्फ प्रेरित गर्ने बताइन् ।
पुरस्कारदाता कर्म गुरुङले आदिवासी जनजातिको आवाजलाई सशक्त बनाउन पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस्तो सम्मानले सञ्चारकर्मीमा थप जिम्मेवारीबोध गराउने विश्वास व्यक्त गरे ।
तमु धिं नेपालका अध्यक्ष एवं फोनिज कास्कीका सल्लाहकार हुम गुरुङले समावेशी पत्रकारिता आजको आवश्यकता भएको बताउँदै यस्ता पुरस्कारलाई दीर्घकालीन र संस्थागत बनाउनुपर्ने धारणा राखे ।
नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले पनि पत्रकारितामार्फत आदिवासी जनजातिका मुद्दा, भाषा र संस्कृतिलाई थप सशक्त रूपमा उठाउन आग्रह गरे ।
पुरस्कार छनोट समितिका संयोजक दिपेन्द्र श्रेष्ठले चार दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय हितानमगर पत्रकारिताका प्रेरणादायी व्यक्तित्व रहेको उल्लेख गर्दै भाषा पत्रकारितामा इन्दिरा गुरुङको निरन्तर योगदान प्रशंसनीय रहेको बताए ।
पुरस्कृत हितानमगरले सम्मानले आफूलाई अझ जिम्मेवार र ऊर्जावान बनाएको प्रतिक्रिया दिँदै निष्पक्ष, स्वतन्त्र र निर्भीक पत्रकारिताको आवश्यकता औंल्याए ।
२०४१ सालदेखि पत्रकारितामा सक्रिय उनले परिस्थिति साप्ताहिकबाट यात्रा सुरु गरी अवलोक, पोखरा साप्ताहिक, जनधारणा साप्ताहिक, आदर्श समाज दैनिक हुँदै हाल फेवा पोस्ट साप्ताहिकमा कार्यरत छन् । उनी तत्कालीन आदिवासी जनजाति पत्रकार संघ (अनिज) का संस्थापक अध्यक्षसमेत हुन् ।
यसैगरी, २०८३ सालकी पुरस्कृत इन्दिरा गुरुङले भाषा पत्रकारितालाई जीवन्त राख्न निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन् । २०५४ सालदेखि रेडियो नेपालमा आबद्ध उहनले आदिवासी जनजाति समुदायका भाषा, संस्कृति र सरोकारका विषयलाई निरन्तर सञ्चारमाध्यममार्फत उजागर गर्दै आएकी छन् ।
फोनिज कास्कीकी अध्यक्ष बिना कुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यसअघि कर्म-कर्ण पुरस्कारबाट सम्मानित व्यक्तित्वहरूको योगदानको समेत स्मरण गरिएको थियो।
समारोहमा राष्ट्रिय कौराहा संरक्षण पत्रकारिता पुरस्कार-२०८३ बाट सम्मानित मिना थापामगर, पोखरा महानगरपालिकाको उत्कृष्ट युवा पुरस्कार प्राप्त दुर्गा रानामगर तथा ११औँ राष्ट्रिय हप्किडो च्याम्पियन मेग्मा गुरुङलाई पनि सम्मान गरिएको थियो ।

