
पोखरा । पोखरामा आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण प्रक्रिया अघि बढाउन पोखरा महानगरपालिका र एसियाली विकास बैङ्क (एडीबी) बीच उच्चस्तरीय छलफल भएको छ।
महानगर प्रमुख धनराज आचार्यसँग एडीबीका वरिष्ठ प्राविधिक तथा पूर्वाधार विशेषज्ञ अरुण रामामुर्तिको नेतृत्वमा आएको टोलीले परियोजनाको प्रगति र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरेको हो।
पोखरा बसपार्क निर्माण परियोजनालाई शीघ्र कार्यान्वयनमा लैजान एडीबीले महानगरपालिकासँग निरन्तर प्राविधिक समन्वय र सघन छलफल गरिरहेको छ।
परियोजनालाई समयमै सम्पन्न गर्ने लक्ष्यका साथ आवश्यक तयारीलाई तीव्र बनाइएको महानगरले जनाएको छ।
यसैबीच, बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासी र भूमिहीन दलित परिवारको व्यवस्थापनलाई महानगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको छ।
वास्तविक सुकुम्वासीको पहिचान गर्ने प्रक्रिया सम्पन्न भइसकेको र उनीहरूको सुरक्षित स्थानान्तरणका लागि आवश्यक योजना तयार पारिरहेको महानगरले जनाएको छ।
परियोजनाका लागि आवश्यक पूर्वतयारीस्वरूप बसपार्क क्षेत्रमा रहेका करिब ५ सय संरचना यसअघि नै हटाइसकिएको छ। अब जग्गा व्यवस्थापन र पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइने बताइएको छ।
पोखरा महानगरपालिका, नगर विकास कोष र एसियाली विकास बैङ्कको साझेदारीमा निर्माण हुने अत्याधुनिक बसपार्कले पोखराको सार्वजनिक यातायात व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने अपेक्षा गरिएको छ।
नगर प्रमुख धनराज आचार्यले परियोजना पोखराको दीर्घकालीन विकाससँग जोडिएको महत्त्वपूर्ण पूर्वाधार भएकाले यसको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाको सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको बताए।
