
पोखरा । एक दशकअघि कलेजो प्रत्यारोपण गराउन नेपाली बिरामीले भारत, थाइल्यान्ड वा सिंगापुर धाउनुपर्ने बाध्यता थियो। करोडौँ रुपैयाँ खर्च, महिनौँ विदेश बसाइ र आर्थिक-मानसिक पीडाबीच उपचार गर्नुपर्ने अवस्था अहिले बदलिएको छ। नेपालमै सफलतापूर्वक कलेजो प्रत्यारोपण हुन थालेपछि दर्जनौँ बिरामीले नयाँ जीवन पाएका छन्।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले २०७३ मंसिर २२ गते पहिलो पटक कलेजो प्रत्यारोपण सफल गरेपछि नेपालले यस क्षेत्रमा ऐतिहासिक फड्को मारेको हो। केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठका अनुसार दक्षिण कोरियाली विशेषज्ञको सहकार्यबाट सुरु भएको सेवा अहिले नेपाली चिकित्सककै नेतृत्वमा प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
हालसम्म केन्द्रमा ३७ जनाको सफल कलेजो प्रत्यारोपण भइसकेको छ। सरकारी केन्द्रमा प्रत्यारोपणका लागि करिब १५ लाख रुपैयाँको प्याकेज भए पनि औषधि र उपकरणसहित कुल खर्च २० देखि २५ लाख रुपैयाँसम्म पुग्ने गरेको केन्द्रका सूचना अधिकारी हरिहर पोखरेलले जानकारी दिए।
यस्तै, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले २०७६ जेठ १७ देखि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो। पहिलो प्रत्यारोपणमा छोरीले आफ्ना बुबालाई कलेजो दान गरेकी थिइन्। अस्पतालका प्रत्यारोपणविद् डा. रमेशसिंह भण्डारीका अनुसार हालसम्म २६ जनाको सफल प्रत्यारोपण भइसकेको छ। सुरुका १० वटा शल्यक्रियामा विदेशी विशेषज्ञको सहयोग लिइए पनि पछिल्ला १६ वटा प्रत्यारोपण नेपाली चिकित्सकको टोलीले आफ्नै नेतृत्वमा सफलतापूर्वक सम्पन्न गरेको उनले बताए।
नेपालमा हालसम्म दुई सरकारी अस्पतालबाट मात्रै ६३ जनाले सफल कलेजो प्रत्यारोपणमार्फत नयाँ जीवन पाइसकेका छन्। यसले नेपाली स्वास्थ्य प्रणालीको क्षमता र चिकित्सकहरूको दक्षता दुवैलाई प्रमाणित गरेको चिकित्सकहरूको भनाइ छ।
यद्यपि चुनौती भने अझै बाँकी छन्। अंगदान गर्ने व्यक्तिको अभाव, मस्तिष्क मृत्युपछि हुने अंगदान न्यून हुनु, प्रत्यारोपणपछि जीवनभर खानुपर्ने महँगा औषधिको खर्च र प्रभावकारी बिमा प्रणालीको अभावले बिरामीलाई अझै कठिनाइ भइरहेको डा. कल्पनाकुमारी श्रेष्ठ बताउँछिन्। आफ्नै भवन नहुँदा भक्तपुर अस्पतालको भवनबाट सेवा सञ्चालन गर्नुपरेको भन्दै उनले पूर्वाधार विस्तार आवश्यक रहेको उल्लेख गरिन्।
वरिष्ठ प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालले कलेजो प्रत्यारोपणमा उल्लेखनीय सफलता हासिल गरे पनि मानव अंग प्रत्यारोपण समिति भंग भएकाले केही प्राविधिक समस्या देखिएका छन्। सेवा विस्तारका लागि पर्याप्त जनशक्ति, आधुनिक उपकरण र सरकारी लगानी अपरिहार्य रहेको उनको भनाइ छ।
डा. रमेशसिंह भण्डारीका अनुसार कलेजोका बिरामी अझै पनि समयमै विशेषज्ञ अस्पतालसम्म पुग्न सकिरहेका छैनन्। मिर्गौला र क्यान्सरका बिरामीलाई जस्तै कलेजोका बिरामीलाई पनि सरकारले विशेष सहुलियत दिनुपर्ने आवश्यकता उनले औंल्याए।सीमित स्रोत-साधनका बाबजुद नेपालले कलेजो प्रत्यारोपणमा हासिल गरेको सफलता स्वास्थ्य क्षेत्रको ठूलो उपलब्धिका रूपमा हेरिएको छ।
