
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-२५ स्थित सेती गण्डकी नदी किनारबाट अवैध रूपमा नदिजन्य पदार्थ (बालुवा) उत्खनन गरिरहेको अवस्थामा तीन वटा टिप्पर र तिनका चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार असार ३० गते राति करिब १०:१५ बजे प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बालुवा सवारी साधनमा लोड गरिरहेको अवस्थामा टिप्परहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा बुझाएको थियो।
नियन्त्रणमा परेका सवारी साधनमध्ये ग १ क ४४७२ नम्बरको टिप्पर कास्कीको पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने २६ वर्षीय सुजन गुरुङले चलाएका थिए।
त्यसैगरी GAA००७६ नम्बरको टिप्पर पोखरा महानगरपालिका-१ सिम्पानी बस्ने २६ वर्षीय विकास घर्तीले तथा GAA०१२४ नम्बरको टिप्पर पोखरा महानगरपालिका-२५ याम्दी बस्ने २५ वर्षीय राजु मगरले चलाएका थिए।
पोखरा महानगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरी प्रत्येक टिप्परलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरेर छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
