
पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रद्वारा सञ्चालित बालश्रम न्यूनीकरण, सामुदायिक विकास, जीविकोपार्जन तथा शिक्षा परियोजनाको सामाजिक परीक्षणबाट तयार प्रतिवेदन संघलाई हस्तान्तरण गरिएको छ।प्रतिवेदनले दीर्घकालीन रूपमा बालश्रममुक्त पोखरा निर्माणका लागि स्पष्ट रणनीतिक मार्गचित्र, नीतिगत ढाँचा र कार्ययोजना तयार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
गत असार ८ गते सम्पन्न सामाजिक परीक्षण कार्यक्रममा उठेका सुझाव, सरोकारवालाको धारणा तथा परियोजनाको मूल्याङ्कन समेटिएको प्रतिवेदन वरिष्ठ सञ्चारकर्मी तथा सामाजिक परीक्षक दीपेन्द्र श्रेष्ठले बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीलाई हस्तान्तरण गरेका हुन्।
प्रतिवेदन हस्तान्तरणका क्रममा श्रेष्ठले बालश्रम न्यूनीकरणलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन पोखरा उद्योग वाणिज्य संघको सामाजिक विकास केन्द्रले पोखरा महानगरपालिका, प्रदेश सरकार, निजी क्षेत्र, नागरिक समाज तथा गैरसरकारी संस्थासँग समन्वय र सहकार्य गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए।
उनले निरन्तर संवाद, साझा प्रतिबद्धता र स्पष्ट कार्ययोजनामार्फत मात्रै पोखरालाई बालश्रममुक्त सहरका रूपमा स्थापित गर्न सकिने धारणा व्यक्त गरे। प्रतिवेदन ग्रहण गर्दै संघका अध्यक्ष गोकर्ण कार्कीले सामाजिक परीक्षणबाट प्राप्त सुझावहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउँदै बालश्रमजस्तो निकृष्ट सामाजिक विकृतिको अन्त्यका लागि संघले कुनै कसर बाँकी नराख्ने बताए।
यसअघि सम्पन्न सामाजिक परीक्षण कार्यक्रम संघका अध्यक्ष कार्कीको अध्यक्षतामा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख चण्डिका पौडेल, गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी बेलकुमारी गुरुङ, राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, प्रहरी निरीक्षक शिशिर भट्टराई, बिन्ध्यवासिनी माध्यमिक विद्यालयका प्राचार्य वसन्तराज पाण्डे, किडासाका वित्त नियन्त्रक वसन्तराज पराजुली र रमेश बास्तोला, इन्सेक गण्डकीका संयोजक गणेश भण्डारी, समृद्धि सप्लायर्सका ध्रुव पोखरेल, पत्रकार श्याम कुँवर, सामाजिक विकास केन्द्रकी लेखा तथा प्रशासन प्रमुख सरिता ताम्राकार, परियोजनाका कर्मचारी, सरोकारवाला तथा अधिकारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको संघकी महासचिव शोभा गौतमले जानकारी दिए।
सामाजिक परीक्षण कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले परियोजनाहरूको परीक्षण नतिजा प्रस्तुत गरेका थिए । कार्यक्रममा परियोजनाले हासिल गरेका उपलब्धि, देखिएका चुनौती, प्राप्त सुझाव तथा आगामी दिनमा गर्नुपर्ने सुधारात्मक कार्यबारे विस्तृत समीक्षा गरिएको थियो।
