
पोखरा । सामाजिक सेवा, महिला नेतृत्व र समुदाय विकासमा सक्रिय इनर ह्वील क्लब अफ अन्नपूर्णले आफ्नो १७औँ पदस्थापना समारोह सम्पन्न गर्दै नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ। समारोहमा वर्ष २०२५/२६ की अध्यक्ष अन्जु चालिसेले वर्ष २०२६/२७ की नवनिर्वाचित अध्यक्ष अनिता पराजुली अधिकारीलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरिन् ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सम्झना तिमिल्सिना, सचिवमा मुना राना कोइराला, कोषाध्यक्षमा मिना बराल, संयुक्त सचिवमा सिलु चालिसे, आईएसओमा शिबु आचार्य अधिकारी, क्लब एडिटरमा तुलसा चापागाईं तथा बोर्ड सदस्यमा आनन्द बराल निर्वाचित भएकी हुन् ।
समारोहका प्रमुख अतिथि इनर ह्वील डिस्ट्रिक्ट ३५० नेपालकी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले सेवा भावनामा आधारित नेतृत्व नै इनर ह्वीलको मूल शक्ति भएको उल्लेख गर्दै स्वास्थ्य, वातावरण संरक्षण, महिला सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नयाँ कार्यसमितिलाई आग्रह गरिन् । उनले समाज रूपान्तरणका लागि इनर ह्वीलजस्ता संस्थाको भूमिका अझ सशक्त बन्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा पूर्व डिस्ट्रिक्ट एनआर तथा इनर ह्वील क्लब अफ अन्नपूर्णकी चार्टर प्रेसिडेन्ट सर्सिज पालिखेसहित विभिन्न इनर ह्वील क्लबका अध्यक्षहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष सन्ध्या कुँवरले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव मुना राना कोइरालाले धन्यवाद ज्ञापन गरेकी थिइन् भने पूर्व अध्यक्ष सजिना न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिइन् । नवनिर्वाचित अध्यक्ष अनिता पराजुली अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबले आगामी कार्यकालमा सामाजिक सेवा, महिला नेतृत्व विकास र समुदायमुखी कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
