
काठमाडौं । मनसुन प्रणाली आजबाट थप सक्रिय हुँदै छ । मनसुन प्रणाली थप सक्रिय हुँदा वर्षा पनि धेरै हुनेछ । ५ गतेसम्म मनसुन थप सक्रिय हुनेछ । आज भारीदेखि अति भारी वर्षाको समेत सम्भावना छ । दिउँसोभन्दा राति धेरै वर्षाको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
पहाडी र तराई भू-भागको धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
देशका पहाडी र तराई भूभागका अधिकांश स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
देशका पहाडी भूभाग, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशको तराईको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले बताएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास छ । त्यसैले धेरै स्थानमा वर्षा भइरहेको छ ।
